सिराज खान
नेपालगन्ज, जेठ १३ गते । नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले १० महिनामा १६ अर्ब ४६ करोड राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले गत १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार रुपियाँ राजश्व सङ्कलन गर्दा लक्ष्यको ६०.५७ प्रतिशत मात्रै राजश्व सङ्कलन हुन सकेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो ।
उहाँले गत केही वर्षदेखि यो नाकामा लक्ष्य पुरा गर्न नसकिएको तथ्याङ्क प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा पनि हालसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम राजश्व सङ्कलन भएको बताउनुभयो । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार असुली भएको छ ।
वार्षिक लक्ष्य पुरा गर्नका लागि जेठ र असार महिनामा थप ४० प्रतिशत राजश्व सङ्कलन गर्नुपर्ने देखिएको जनाउँदै भन्सार कार्यालयका प्रमुख पौडेलले सो कुरा असम्भव रहेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८१-०८२ को साउनदेखि हालसम्म कुनै पनि महिनामा नेपालगन्ज भन्सारले मासिक लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न सकेको छैन ।
अघिल्लो आर्थिक २०८०-०८१ मा नेपालगन्ज भन्सारले लक्ष्यको ६३.३५ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा २८ अर्ब ६६ करोड २५ लाख २९ हजार रूपियाँ लक्ष्य निर्धारण गरिएकोमा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रूपियाँ राजश्व सङ्कलन भएको थियो । अघिल्लो वर्षमा भन्सारले निर्धारित लक्ष्य भेट्न नसकेपछि चालु आवका लागि १ अर्ब घटाएर लक्ष्य निर्धारण भएको थियो ।
नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि भन्सार वृद्धि हुने अपेक्षा गरिएपनि त्यस्तो परिणाम आउन सकेको छैन । उता नेपालगन्ज उद्योग वाणिज्य संघले एकीकृत जाँच चौकीको प्रयोग गर्दा थप शुल्क आयातकर्ताले व्यहोर्नुपर्ने र समय बढी लाग्दा भाडा पनि बढी तिर्नु पर्ने हुँदा धेरैले अन्य नाकाबाट आयात निर्यात गरेको पाईएको जनाएको छ ।
अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाइएको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक देखिएको छ ।
नेपालगन्ज भन्सारबाट चालु आर्थिक बर्ष २०८१-०८२ को वैशाख मसान्तसम्म मात्रै व्यापार घाटा ९५.११ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सारबाट चालु आवको वैशाख मसान्तसम्म ६३ अर्ब २८ करोड ५ लाख ९३ हजार बराबरको आयात हुँदा २ अर्ब ५८ करोड २४ लाख १५ हजार बराबरको मात्र निर्यात भएको छ ।