रवीन्द्र उप्रेती
बर्दिबास, जेठ १३ गते । महोत्तरीको प्रमुख व्यापारिक नाका जलेश्वर भन्सारको राजश्व असुलीमा निरन्तर गिरावट आएको छ । आर्थिक वर्ष ०७८-७९ मा लक्ष्यको १८२ प्रतिशत बढी सङ्कलन गरेको जलेश्वर भन्सारको राजश्व त्यस यता निरन्तर ओहृालो लाग्दै आएको हो ।
चालु आर्थिक वर्ष ०८१-८२ को राजश्व सङ्कलन थप दयनीय देखिएको छ । जलेश्वर भन्सारमा देखा परेको बढ्दो लक्ष्य र घटदो राजश्वले अनेकन प्रश्न खडा गरेका छन् ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव ०७९-८० का लागि ३ अर्व ६३ करोड ९१ लाख लक्ष्य तोकिएको थियो । असुली भने २२ प्रतिसत कम अर्थात् २ अर्व ८१ करोड ७३ लाख मात्र भएको थियो ।
यो अवस्था ०८०-८१ मा सुधार हुने अपेक्षा गरिएको थियो । भारतीय चुनावी वर्षको असर लगाएतका कारणले गर्दा यो आवमा पनि जलेश्वर भन्सारले लक्ष्य चुम्न सकेन । यस आवका लागि ३ अर्व ७६ करोड २३ लाख लक्ष्य तोकिएकोमा सङ्कलन भने लक्ष्यभन्दा ५१ करोड कम अर्थात ३ अर्व २५ करोड ९८ लाखमा सिमित भएको जलेश्वर भन्सारले जनाएको छ । यो असुली पनि लक्ष्यको १३.३६ प्रतिशतले कम हो ।
चालु आव ०८१-८२ को राजश्व सङ्कलन थप निरासाजनक छ । यस आवमा जलेश्वर भन्सारका लागि चार अर्व ५३ करोड ६२ लाख लक्ष्य तोकिएको छ । भन्सार अधिकृत सन्तोश ज्ञवालीका अनुसार चालु आवको उत्तराद्धमा आइपुग्दा जेठ ९ गतेसम्म लक्ष्यको केवल ५४.६३ प्रतिशत अर्थात् दुई अर्व ४७ करोड ८० लाख रुपियाँ मात्र सङ्कलन भएको छ ।
आर्थिक वर्ष समाप्त हुन अव एक महिना मात्र बाँकी रहेकोले यो लक्ष्य पुरा हुने तत्काल कुनै सम्भावना देखिदैन । भन्सार अधिकृत ज्ञवालीका अनुसार जलेश्वर भन्सारमा राजश्व ओहृालो लाग्ने अनेकन कारण छन् । त्यसमध्ये पेट्रोलियम पदार्थको आयातलाई प्रमुख कारक मानिएको छ ।
भारतको वरौनी रिफाइनरीबाट आयात हुने पेट्रोलियमबाट जलेश्वर भन्सारको राजस्वमा ५५ देखि ६० प्रतिशतसम्म योगदान थियो । यसैको आधारमा विभागले लक्ष्य पनि थप्दै लगेको थियो । मोतिहारी अमलेखगञ्ज पाइपलाईन सुचारु भएदेखि भन्सार राजस्वमा गिरावट सुरु भएको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुको वर्षमा पाइपलाईनबाट डिजेल मात्र आयात हुदासम्म पनि केही ठीकै थियो । गएको फागुन महिनादेखि पेट्रोलसमेत सोही माध्यमले आयात हुन थालेपछि पट्रोलियमबाट प्राप्त हुने राजस्व ठप्प छ । त्यस यता राजस्व सङ्कलन पनि झण्डै ५० प्रतिसतले घटेको छ ।’
पेट्रोलियम बाहेक जलेश्वर भन्सार नाकाबाट सवैभन्दा बढी कोइला, सिमेन्ट क्लिङकर (पःलाई यास), आलु, प्याज, चामल, फलफूल, हरीया तरकारी आयात हुने गरेका छन् । पेट्रोलियमको तुलनामा यी सामानबाट आधाजति पनि राजस्व संकलन हुन नसकेको भन्सारले जनाएको छ ।
भारततर्फ भने पामोलिन र सोयावीन तेल, कोरभेनियर निर्यात हुने गरेको ज्ञवालीले जनाउनुभयो । राजश्वको श्रोत र सङ्कलन घट्दै गएको अवस्थामा भन्सार विभागले वर्षेनी लक्ष्य थप्दै गएकोले पनि जलेश्वर भन्सारको असुलीमा गिरावट देखिएको स्थानीय व्यापारीको भनाइ छ ।