• १२ जेठ २०८२, सोमबार

राजापुर भन्सार सोह्र वर्षदेखि प्रमुखविहीन

blog

राजापुरमा रहेको राजापुर भन्सार कार्यालय । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), जेठ १२ गते । बर्दिया जिल्लाको राजापुर भन्सार कार्यालय १६ वर्षदेखि प्रमुखविहीन छ । राजापुर भन्सार कार्यालयमा अधिकृत तहको दरबन्दी भए पनि अधिकृत नहुँदा भन्सार कार्यालय कहिले नायब सुब्बा त कहिले कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । राजापुर भन्सार कार्यालय अन्तर्गत तारातार र गुलरिया छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । दुईमध्ये राजापुर भन्सार कार्यालयमा बस्नुपर्ने अधिकृत दरबन्दीमा आए पनि गुलरिया छोटी भन्सारमा बस्दा राजापुर भन्सार कार्यालय भने प्रमुखविहीन बनेको हो ।

राजापुर भन्सार कार्यालयसहित गुलरिया छोटी भन्सार र तारातार छोटी भन्सार कार्यालयमा अधिकृतसहित नायब सुब्बा आठ जना, कम्प्युटर अपरेटर एक जना, हलुका सवारीचालक एक जना, कार्यालय सहयोगी १० जनाको दरबन्दी भए पनि भन्सार कार्यालयमा हाल चार जना नायबसुब्बा र चार जना कार्यालय सहयोगी मात्र कार्यरत छन् । यहाँबाट सरुवा भएर अन्यत्र कर्मचारी गएको बर्सौं बित्दा पनि कर्मचारी पदपूर्ति हुन सकेको छैन भने सरुवा भएर आएका अधिकृतसमेत सदरमुकामकेन्द्रित हुन थालेपछि भन्सार कार्यालय प्रमुखविहीन बनेको हो । 

विसं २०६७ देखि नै राजापुर भन्सारमा अधिकृत नबस्ने परिपाटी सुरु भएको र राजापुर भन्सार कार्यालयको दरबन्दी अनुसार अधिकृत आए पनि २०६७ सालदेखि नै गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बस्न थालेपछि राजापुर भन्सार कार्यालय प्रमुखविहीन बन्दै गएको छ । लामो समय कार्यालय सहयोगीबाट सञ्चालन भएको भन्सार दुई महिना अघिदेखि भने नायबसुब्बा गोविन्द बस्याल र दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । भारतसँग सीमा जोडिएको राजापुरको जिल्ला भन्सार कार्यालय सबैभन्दा पुरानो भन्सार कार्यालय भएकाले पनि राजापुरमा अधिकृत हुनुपर्ने स्थानीय व्यापारी चिन्तामणि आचार्यले बताउनुभयो ।

राजापुरमा रहेको राजापुर भन्सार कार्यालयले गुलरिया र तारातालको छोटी भन्सार कार्यालय सञ्चालन गर्नुपर्ने हो तर राजापुर भन्सार कार्यालय १६ वर्षदेखि प्रमुखविहीन बनेको र कहिले नायबसुब्बा र कहिले कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको व्यापारीहरूको भनाइ छ । राजापुर भन्सार कार्यालयका सूचना अधिकारी प्रमोदकुमार महतोले अधिकृत कहिलेकाहीँ आए पनि गुलरियामा बस्न थालेपछि राजापुर भन्सार कार्यालय अधिकृतविहीन भएको बताउनुभयो । महतोले २०६७ सालदेखि यो परम्परा रहँदै आएको बताउनुभयो ।