काठमाडौं, जेठ ९ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दुई महिनाभित्र पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्नेहाज केयर र नेपाल फार्मर्स् एडभाइजरी काउन्सिलको आयोजनामा शुक्रबार ललितपुरमा आयोजित ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफूले पशु कल्याणका विषयमा धेरै कुरा सिकेको र यसले प्रभावित बनाएको बताउनुभयो ।
नेपाल फार्मर्स एडभाईजरी काउन्सिलका अध्यक्ष एवम् पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशभन्दा दुई सय वर्ष पछाडि रहेको र छिमेकी भारतमा समेत १९६० मा पशु कल्याण ऐन जारी गरेको तथा १९६२ मा शक्तिशाली पशु कल्याण बोर्ड स्थापना भएको उल्लेख गर्नुभयो ।
स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले ‘नेपालमा पशु कल्याणः आवश्यकता र महत्व’ विषयमा प्रस्तुतिकरण गर्नुहुँर्दै नेपालमा पशु कल्याणको वर्तमान अवस्था, पशु कल्याण ऐन, पशु कल्याणको महत्व र आवश्यकता तथा पशु कल्याणका लागि संस्थाले गरेका क्रियाकलापका सम्बन्धमा प्रस्ट्याउनुभयो । उहाँले नेपालमा पशु कल्याण ऐन, पशु कल्याणका लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरि लागु गर्नुपर्ने र समयसापेक्ष संसोधन गर्दै जानुपर्ने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले स्नेहाज केयरसँग पशु कल्याणका लागि निकट सहकार्य रहेको र नेपालमै पहिलोपटक महानगरपालिकाले भेटनरी एम्बुलेन्स समेत प्रदान गरेको भन्नुहुँदै सङ्घीय पशु कल्याण ऐन जारी भएपछि लगतैको हिँउदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सांसदहरु सम्झना थपलिया, रञ्जिता श्रेष्ठ, मिना तामाङ, बिजुला रायमाझी लगायतको उपस्थिती रहेको थियो ।