पर्वत, जेठ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनपछि सामाजिक र आर्थिक समृद्धिको अगुवाइ माओवादीले गर्ने बताउनुभएको छ ।
‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’को क्रममा आज पर्वत सदरमुकाम कुश्मामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा माओवादीले कसैको सहारा नलिने बताउनुभयो । अबको निर्वाचनमा माओवादी आफ्नै तागतले उभिने उहाँको भनाइ छ ।
हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको जनजागरण अभियानमा देखिएको जनताको उत्साहले आफू पनि उत्साहित भएको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “माओवादी नेतृत्वमा आए सुशासन कायम हुन्छ र भ्रष्टाचारको अन्त्य हुन्छ भन्नेहरु धेरै भेटेका छौँ । हामी अहिले जनतासँग साक्षात्कार गरिरहेका छौँ, पार्टीलाई मजबुत बनाउँदै कार्यकर्तालाई एकत्रित गरिरहेका छौँ ।”
समाजवादी मोर्चाले सरकारलाई सच्चिन र मुलुकको हितमा काम गर्न खबरदारी गर्दै आएको उहाँले उल्लेख गर्नुभयो । जनसंवादमा जिल्लास्थित पत्रकार, उद्योगी व्यवसायी, शिक्षक, स्वास्थ्य तथा सामाजिक सङ्घसंस्थाका प्रमुखहरुले विभिन्न जिज्ञासाहरु राखेका थिए । सो अवसरमा सहिद तथा बेपत्ताका परिवारलाई सम्मान गरिएको थियो ।