• ९ जेठ २०८२, शुक्रबार

इन्डोनेसियाको सुमात्रामा भूकम्प, सयभन्दा बढी घर क्षतिग्रस्त

blog

जकार्ता, जेठ ९ गते । शुक्रबार इन्डोनेसियाको सुमात्रा टापु नजिकै ५.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट एक सयभन्दा बढी घर क्षतिग्रस्त भएको र कुनै हताहत भएको खबर छैन ।

युएसजिएसका अनुसार भूकम्प स्थानीय समय बिहान २ः५२ बजे ६८ किलोमिटरको गहिराइमा बेङ्कुलु प्रान्त नजिकै अफशोरमा गएको थियो ।

देशको मौसम विज्ञान एजेन्सीले भूकम्पको केन्द्रविन्दु ८४ किलोमिटर गहिराइमा रहेको र यसको परिमाण ६.० रहेको बताएको छ । एजेन्सीले सुनामीको सम्भावना नभएको बताएको छ ।

भूकम्पले प्रान्तीय राजधानी बेङ्कुलु सहरमा एक सयभन्दा बढी घर र कम्तीमा छ वटा सार्वजनिक सुविधा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले शुक्रबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

“बेङ्कुलु सहरमा भूकम्पबाट एक सय ४० घर प्रभावित भए । तीमध्ये आठ ध्वस्त भए, अर्थात् तिनीहरूको मर्मत गर्न सकिँदैन”, अब्दुलले भन्नुभयो ।

सेन्ट्रल बेङ्कुलु जिल्लामा भूकम्पका कारण दुईवटा घरमा हल्का क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार शुक्रबार बिहानसम्म भूकम्पबाट कुनै हताहतको खबर छैन ।

विशाल द्वीपसमूह इन्डोनेसियाले प्रशान्त ‘रिङ अफ फायर’ मा यसको स्थितिका कारण बारम्बार भूकम्पको अनुभव गर्दछ । जापानबाट दक्षिणपूर्व एशिया र प्रशान्त बेसिनमा फैलिएको रिङ अफ फायरमा टेक्टोनिक प्लेटहरू घर्षण हुँदा तीव्र भूकम्पीय गतिविधि हुन्छ ।

सन् २०२१ जनवरीमा सुलावेसीमा गएको ६.२ म्याग्निच्युडको भूकम्पले एक सयभन्दा बढीको ज्यान लिएको थियो भने हजारौँ घरबारविहीन भएका थिए ।

सन् २०१८ मा सुलावेसीको पालूमा ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीले दुई हजार दुई सयभन्दा बढीको ज्यान गएको थियो ।

सन् २००४ मा इन्डोनेसियाको आचे प्रान्तमा ९.१ म्याग्निच्युडको भूकम्प जाँदा एक लाख लाख ७० हजारभन्दा बढीको ज्यान गएको थियो । रासस/एएफपी