• ९ जेठ २०८२, शुक्रबार

बाँकेमा सवारी मजदुरको आँखा परीक्षण

blog

आँखा परीक्षणका लागि लाइन लागेका चालक, सहचालक तथा गाडी मजदुर। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, जेठ ९ गते। बाँकेको कोहलपुरमा सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सवारी मजदुरको आँखा परीक्षण गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना र कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र बागेश्वरी यातायात प्रालिको सहकार्यमा शुक्रबार बिहान कोहलपुर बसपार्कमा बसका चालक, सहचालक तथा गाडी मजदुरको निःशुल्क आँखा परीक्षण गरिएको हो।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले शरीरका सबै अङ्गमध्ये आँखा महत्त्वपूर्ण र संवेदनशील अंग भएका कारण ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयले चालक तथा सहचालकको निःशुल्क आँखा शिविर आयोजना गरेर सराहनीय कार्य गरेको बताउनुभयो। उहाँले सवारी दुर्घटनाका कारणमध्ये आँखाको दृष्टि पनि एक महत्त्वपूर्ण कारण भएकाले समयसमयमा अनिवार्यरुपमा गाडीका कर्मचारीले आँखा परीक्षण गराउनुपर्ने बताउनुभयो।

इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सवारी दुर्घटनाका कारण मध्ये आँखाको दृश्य पनि एक भएका कारण त्यसलाई न्यूनीकरण गर्नका लागि चालक तथा सहचालकको आँखा परीक्षण गरिएको बताउनुभयो। 

फत्तेबाल आँखा अस्पताल नेपालगन्जका नेत्र अधिकृत उमर सादिकले चालक, सहचालक तथा कर्मचारीमध्ये अधिकांशको आँखा नर्मल देखिए पनि केहीमा दृष्टि दोष, आँखा चिलाउने तथा ४० वर्षमाथिका धेरैजसोमा नजिक नदेख्ने समस्या देखिएका कारण चस्मा लगाउनुपर्ने सल्लाह दिइएको बताउनुभयो। उहाँका अनुसार १६६ जनाको आँखा परीक्षण गरिएको छ। कोहलपुरका नगर प्रमुखको आँखा परीक्षण गरेर शिविरको सुरुआत गरिएको थियो।

बाँकेमा चालु आवको वैशाखसम्म साना ठूला गरेर ४०९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनाका कारण ६६२ जना नागरिक घाइते भएका छन् भने ६३ जनाको मृत्यु भएको छ। गत आवमा जिल्लामा १३२ वटा सवारी दुर्घटना भएका थिए। जसका कारण १८३ जना नागरिक घाइते भएको र ६० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ।