• ९ जेठ २०८२, शुक्रबार

रारा पाँचौ ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढालाई

blog

रारा पाँचौ ट्रेल रनमा सहभागी। तस्बिरः हरिकृष्ण ऐडी।

हरिकृष्ण ऐडी

मुगु, जेठ ९ गते। पाँचौ  रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्ला कनकासुन्दरी गाउँपालिका–३ का युगराज बुढाले जित्नुभएको छ।  बुढाले ताल वरिपरि १५ किलोमिटर दुरी एक घण्टा  १२ मिनेटमा पार गरेर ५० हजार रुपियाँ  नगदसहित  पुरस्कार जित्नुभएको हो ।

हनुमानध्वज गुल्म राराका गुल्मपती खिमबहादुर अधिकारीका अनुसार जुम्ला कनकासुन्दरी गाउँपालिका–१ का  सोमबहादुर रावत दोस्रो हुनुभएको छ भने वडा नम्बर २ का चन्द्र रावत तेस्रो बन्नुभएको छ। 

त्यसैगरी महिलातर्फ जुम्ला जिल्ला पातारासी गाउँपालिका २ की  सुनमाया बुढा  महिलातर्फ प्रथम हुनुभएको छ। त्यसैगरी कनकासुन्दरी गाउँपालिका– २ की  कल्पना बुढा दोस्रो र जुम्लाकी राज्य लक्ष्मी रावल तेस्रो बन्नुभएको हो। मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका  वडा नम्बर १४ का अक्कल बढुवाल चौंथो  बन्नुभएको छ। 

गु्ल्मपती अधिकारीका अनुसार प्रथमलाई ५० हजार, दोस्रोलाई  ३० हजार  र तेस्रोलाई  २० हजार पुरस्कार प्रदान गरिएको छ।  नेपाली सेनाले हरेक वर्ष जेठ महिनामा  प्रतियोगिता आयोजना गर्दै आएको छ। 


रारा पाँचौ ट्रेल रनमा  ३८ जना महिला, १७१ पुरुष गरेर जम्मा दुई सय ९ जना  सहभागी भएको हनुमानध्वज  रारा गुल्मले जानकारी दिएको छ।

पाँचौं रारा ट्रेल रन  प्रतियोगिताको उत्तरपश्चिम पृतना सुखेतका  पितनापती अनुकजङ थापाले  रिवन काटेर उद्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रममा  नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी सहभागि भएका थिए।