• ९ जेठ २०८२, शुक्रबार

पानी छोएको निहुँमा दलितमाथि कुटपिट

blog

साङ्केतिक तस्बिर

संगिता तिमिल्सिना

बडीमालिका (बाजुरा), जेठ ९ गते । जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै दलित बालबालिकामाथि जातिय विभेदसहित कुटपिट भएको पाइएको छ । बिहीबार दिउँसो सोही गाउँपालिकाको ३ मा रहेको बेर्मा बजार नजिकै स्थानीय बाँचा भण्डारीको होटेलमा पानी छोएको निहुँमा दलित समुदायका तीन बालबालिकालाई कुटपिट गरिएको खुलेको हो ।

होटलमा पानी छोएकै निहुँमा सामाजिक रुपमा खलल पुर्‍याउने जातीय विभेदका शब्द प्रयोग गर्दै गालीगलौजसहित कुटपिट गरेको पीडित प्रेम विकले बताउनुभयो । बेर्मा बजारमा रहेको होटलकी सञ्चालक बाँचा भण्डारीले पानी छोएको भन्दै सोही गाउँपालिकाका ३ का प्रेम विक, अर्जुन विक र पवन विकलाई कुटपिट गरेको धनरुप कामीले बताउनुभयो ।

यता ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रमेश रावलले बालबालिकाहरुले पानी पिएको र साहुनीको छोरीलाई जिस्काएको भन्ने आएको तर यथार्थ कुराका लागि दुबै पक्षलाई छलफलका लागि जुड्डी प्रहरी चौकीमा बोलाएको बताउनुभयो । घटनास्थलमा रहेका अन्य प्रत्यक्षदर्शी र दुबै पक्षसँग छलफल गरेर यथार्थ कुरा बुझ्ने उहाँले बताउनुभयो ।

यता होटेल व्यवसायी बाँचा भण्डारीलाई यस विषयबारे बुझ्न खोज्दा फोन उठेको छैन । प्रहरीमा आएको निवेदनका अनुसार होटेल व्यवसायी बाँचा भण्डारीले आफ्नो शरिरमा झुण्डिएर कुटपिट गरेको भन्ने निवेदनमा उल्लेख गरिएको बताइएको छ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ तथा जातीय भेदभाव तथ छुवाछूत (कसुर र सजाय) नियमावली २०७४ ले प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति जातजाति वंश समुदाय, पेसा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्न नहुने भनेको छ ।