• ९ जेठ २०८२, शुक्रबार

आफ्नै भवन नहुँदा कार्य सम्पादनमा ट्राफिकलाई चुनौती

blog

गौर नगरपालिका– ३ मा रहेको ट्राफिक प्रहरी कार्यालय । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ९ गते ।
ट्राफिक प्रहरी कार्यालय गौरको भवन नहुँदा कार्यालयको काम–कारबाहीमा समस्या भएको छ । आफ्नो भवन नहुँदा ट्राफिक प्रहरीको बसोबास र कार्यालय सञ्चालनमा समस्या भएको हो । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो ।

ट्राफिक प्रहरीले हाल आएर गौर नगरपालिका–३ कार्यालयको भुइँ तल्लामा बसेर सेवा दिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले बताउनुभयो । कार्यालय सञ्चालन र वास बस्नका लागि गौर नगरपालिकाले एक हप्तादेखि वडा कार्यालय रहेको घरको भुइँ तल्लाको कोठा उपलब्ध गराएको जानकारी उहाँले दिनुभयो ।

साविक डिभिजन सहकारी कार्यालयको भवनमा हाल गौर नगरपालिकाले–३ कार्यालय सञ्चालन गरी रहेको छ  । बाहिरी आवरण रङरोगन गरेर चिटिक्क परेको भए पनि भित्रि भाग जीर्ण रहेको छ  ।

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा नियम विपरीत सञ्चालन भएका सवारीसाधन, चोरीका सवारीसाधन समात्दा राख्ने ठाउँको समेत अभाव रहेको ट्राफिक प्रहरी कार्यालय गौरका प्रहरी सहायक निरीक्षक दिपेन्द्र झाको भनाइ छ ।

भवन नहुँदा कार्यसम्पादनमा समेत समस्या भएको छ, कार्यालय भवन र बस्ने अभाव २०६३ सालदेखि ट्राफिक प्रहरी कार्यालय गौरले झेल्दै आइरहेको प्रहरी सहायक निरीक्षक झाले भन्नुभयो ।

गौरमा ट्राफिक प्रहरी कार्यालय स्थापना भएदेखि तीन ठाउँमा कार्यालय सार्नु परेको प्रहरी सहायक निरीक्षक झाले बताउनुभयो  ।

जिल्ला हुलाक कार्यालयको भवनबाट सेवा दिइ रहेको कार्यालय अहिले आएर वडा कार्यालयमा सरेको छ । सामान्य वर्षा हुँदा समेत कोठामा पानी पस्ने ट्राफिक प्रहरीको पीडा यथावत रहेको छ । गौरमा नौ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ

गौर नगरपालिकाले विगतका दिनमा जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरे पनि हालसम्म कार्यान्वयन हुन् नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका  प्रहरी निरीक्षक अधिकारिले बताउनुभयो  ।

भवन निर्माणको लागि आवश्यक पहल गरिरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो  ।