जानु पाण्डे
कपिलवस्तु, जेठ ९ गते । कपिलवस्तुमा ट्राफिक नियम पालनामा सुधार ल्याउन र बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सुरक्षाकर्मी र सर्वसाधारणबिचको सहकार्यमा नयाँ अभ्यास सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सूचना जारी गर्दै सर्वसाधारणलाई ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको भिडियो वा फोटो खिचेर प्रहरीलाई पठाउन आग्रह गरेका छन् । विशेष गरी प्रहरीको उपस्थिति कम हुने भित्री सडक तथा गाउँ क्षेत्रका सवारी सञ्चालनलाई नियमन गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले भन्नुभयो, “नागरिकले पनि बिना बर्दीको प्रहरीको जस्तो जिम्मेवारी बहन गर्न सक्छन् । तपाइहरूले खिचेका प्रमाणकै आधारमा नियम उल्लङ्घन गर्ने सवारीमाथि कारबाही हुनेछ । अब प्रहरी मात्र होइन, आम नागरिक पनि ट्राफिक सुरक्षामा सक्रिय भूमिका खेल्नेछन् ।”
नियम उल्लङ्घन गर्ने सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिने गरी फोटो वा भिडियो खिची ९८५७०५१०३८ नम्बरमा ह्वाट्सएप मार्फत पठाउन सकिने छ । नागरिकबाट प्राप्त प्रमाणको गोपनीयता सुरक्षित राखिने ट्राफिक प्रहरी प्रमुख पङ्कज चुँदालीले बताउनुभयो ।
यो पहलबाट भित्री तथा टाढाका सडकहरूमा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन हुनेछ भन्ने विश्वास लिइएको छ । प्रहरीको यो सकारात्मक कदमले नागरिक सचेतना बढाउने मात्र होइन, सुरक्षित र जिम्मेवार सडक संस्कृतिको विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।