चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्ष वेदप्रसाद गौतमका अनुसार सोही गाउँपालिका–२ सान्थाक्राको साक्फारामा ज १ च १३१७ नम्बरको बोलेरो जिप ब्रेक फेल भई दुर्घटना भएको हो । शुक्रबार बिहान ११ः१५ बजेतिर भएको जिप दुर्घटनामा परी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका चालक २५ वर्षीय साङ्गे शेर्पा घाइते हुनुभएको छ । सवारी चालक शेर्पाको टाउको चोट लागेको छ ।
यस्तै, सो जिपमा सवार यात्रु नाल्बुकै १७ वर्षीया दावा शेर्पा, ६८ वर्षीय भीमकुमार लिम्बू, २४ वर्षीया अञ्जना शेर्पा र २६ वर्षीया छुनु माबो लिम्बू घाइते हुनुभएको प्रनाउ गौतमले जानकारी दिनुभयो । नाल्बुकै १७ वर्षीय दावाचुङ्दा शेर्पा, २३ वर्षीया फुर्लामु शेर्पा, ५१ वर्षीय गुबा शेर्पा र आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेकी २४ वर्षीया प्रमिला शेर्पा घाइते हुनुभएको छ । उहाँका अनुसार घाइते सबैको टाउको, हात, खुट्टा, चिउँडो, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।
सवारी दुर्घटनामा परी घाइते हुनेलाई मेरिङ्देन गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङतर्फ लगिँदै गरिएको पनि प्रहरीले जनाएको छ । नौ जना यात्रु सवार उक्त जिप दुर्घटना भएको खबर भएपछि तत्काल इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।