बुटवल समाचारदाता
बुटवल, जेठ ९ गते । बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्धनमा जोड दिँदै भगिनी सम्बन्ध स्थापना हुने भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनबिच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको हो ।
बुटवलका नगरप्रमुख पाण्डेयले बुटवलमा धार्मिक पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै बुटवल–मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माण भएमा स्थानीय र राष्ट्रिय समृद्धिमा उल्लेखनीय योगदान पुग्ने बताउनुभयो । भारतका धार्मिक तीर्थस्थल, लुम्बिनी र मुक्तिनाथलाई जोड्न सकियो भने भारतीय र तिब्बती पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको भन्दै उहाँले बुटवल उपमहानगरपालिकाले त्यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको बताउनुभयो ।
नगरप्रमुख पाण्डेयका अनुसार कालीगण्डकी कोरिडोरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न घरपझोङ गाउँपालिकासँग सहकार्य गरिने उल्लेख गर्दै बुटवल–मुक्तिनाथ पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिने छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवलसँग भगिनी सम्बन्ध स्थापना भएर पर्यटन, विकास र सेवा प्रवाहका क्षेत्रमा अनुभव आदानप्रदान गर्न पाउँदा हामी उत्साहित भएको बताउँदै हाम्रो उद्देश्य प्रशासनिक मात्र नभई सांस्कृतिक र जनस्तरको सम्बन्धलाई पनि मजबुत बनाउने हो भन्नुभयो । दुवै पालिकाले स्थानीय उत्पादनको प्रवर्धन, बजार व्यवस्थापन, पर्यटन पूर्वाधारको विकास र धार्मिक सम्पदाको संरक्षणमा आपसी सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै पदमार्ग अन्तर्गत पर्ने अन्य स्थानीय सरकारसँग संयुक्त भेला गरी धार्मिक पर्यटन प्रवर्धनमा नीति, योजना र कार्यान्वयनका विषयमा छलफल गरिने उल्लेख गरिएको छ । बुटवलले मुस्ताङका स्थानीय उत्पादनको प्रवर्धनमा नेतृत्व लिने र घरपझोङ गाउँपालिकाले बुटवल क्षेत्रका उत्पादन प्रवर्धनमा पहल गर्ने गरी सहमति भएको छ ।
बुटवल उपमहानगरको टोली अहिले मुस्ताङ जिल्लाको भ्रमणमा रहेको छ । सोही क्रममा कालीगण्डकी नदी किनारका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि गुल्मी, बागलुङ र मुस्ताङका विभिन्न पालिकासँग पनि समन्वय गरिएको उपमहानगरले जनाएको छ । नगरप्रमुख पाण्डेयले उक्त भ्रमणले कालीगण्डकी कोरिडोर क्षेत्रलाई प्रभावकारी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।