• ९ जेठ २०८२, शुक्रबार

पिएसबी नेपाल र प्रदेश सरकारबिच सम्झौता

blog

हस्ताक्षरपछि सम्झौतापत्र आदनप्रदान गरिँदै ।तस्बिर : धर्बेन्द्र झा

धनुषा समाचारदाता

जनकपुरधाम, जेठ ९ गते । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपाल र मधेश प्रदेश सरकारबिच जनकपुरधामस्थित मधेश सरकारको मधेश भवनमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनको मधेश ब्युरो कार्यालय सञ्चालन गर्न भवन उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

प्रदेश सरकारले प्रयोग गर्दै आएको कभर्ड हलसँगैको चार कोठामा पिएसबीको स्टुडियोसहितको संरचना निर्माण गरेर यसै ठाउँबाट विभिन्न प्रकारका प्रसारण सामग्रीको उत्पादन गरी रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय बर्दीबास तथा नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रबाट प्रसारण गरिने गरी सम्झौता भएको हो । 

मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टको उपस्थितिमा दुईपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  

सम्झौतापत्रमा मधेश प्रदेश सरकारका तर्फबाट गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बराल तथा सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट रेडियो नेपाल मधेश प्रदेश बर्दीबास कार्यालयका प्रमुख रामपुकार रामले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौतापछि अबका दिनमा मधेश प्रदेश सरकारका सम्पूर्ण गतिविधिबारे समाचार, कार्यव्रmमसहितका अन्य सामग्रीको उत्पादन यसै ठाउँबाट हुनुका साथै रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारणका अतिरिक्त केन्द्रीय प्रसारणमा प्रभावकारी सम्प्रेषण मधेश भवनबाटै हुने छ । 

कार्यव्रmममा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गतको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको स्टुडियोसहितको मधेश ब्युरो कार्यालय मधेश भवनबाट सञ्चालन हुनु गर्वको विषय भएको बताउँदै यस संस्थाले सरकार र जनताबिचको पुलको काम गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारको सानो सहयोगले नेपालमा इतिहास बोकेको रेडियो नेपाल तथा नेपाल टेलिभिजनको ब्युरो कार्यालय स्थापना भएकाले यसबाट मधेशका जनताको चाहना र इच्छा सार्वजनिक सेवाबाट मुखरित हुने धारणा व्यक्त गर्नुभयो । 

सार्वजनिक प्रसारण सेवा नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले मधेश प्रदेशमा पिएसबीको भौतिक उपस्थितिले यस प्रदेशका गतिविधि अझ बढी जनता माझ प्रवाहित हुने बताउनुभयो ।