• ९ जेठ २०८२, शुक्रबार

बिछ्याइयो खानेपानीका पाइप

blog

जुम्ला सदरमुकाममा खानेपानीको पाइप बिछ्याइँदै । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, जेठ ९ गते । जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको हो । 

सङ्घीय खानेपानी तथा ढल निकास आयोजना जुम्लाका अनुसार पहिलो चरणको काममा जम्मा ७० किमी पाइप बिछ्याउनुपर्नेमा ६० किलोमिटर पाइप बिछ्याइएको छ । कार्यालयका प्रमुख इन्जिनियर कपिलप्रसाद मोचीका अनुसार दोस्रो चरणको काममा दुई सय किमी पाइप बिछ्याउनुपर्ने लक्ष्य अनुसार १६५ किमी क्षेत्रमा पाइप बिछ्याइएको छ । 

जुम्ला सदरमुकाममा समेत धमाधम पाइप बिछ्याइरहेको देखिन्छ । उहाँका अनुसार आयोजनाको समग्र वित्तीय प्रगति ६८.१६ प्रतिशत भएको छ । ७५ प्रतिशत भौतिक प्रगति भएको छ । दोस्रो चरणमा ६०.२९ प्रतिशत वित्तीय प्रगति र भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको छ । सो बृहत् खानेपानी निर्माण कालिका एनभी कनकाई जेभीसँग सम्झौता भई काम भइरहेको छ । 

पहिलो चरणको काममा खानेपानीका १३ वटा ट्याङ्की छन् । जसमा छ वटाको काम सम्पन्न भएको छ । कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा छ वटामध्ये तीन वटाको काम सकिएको र अन्य काम भइरहेको छ । तातोपानी गाउँपालिकामा निर्माणाधीन पाँच वटा ट्याङ्कीमध्ये तीन वटाको काम सकिएको छ । यसै गरी गुठीचौर गाउँपालिका क्षेत्रमा रहेका दुई वटा ट्याङ्की निर्माणाधीन छन् । 

यसै गरी कार्यक्षेत्रका आठ हजार छ सय घरधुरीका धारामध्ये तीन हजार घरधुरीमा खानेपानीको धारा जडान भएको कार्यालयले जनाएको छ । 

बजेट अभावले मुहानको काम रोकियो 

कार्यालयका अनुसार धौलीगाड खानेपानीको मुहानको १० किलोमिटरको काममा समस्या भएको छ । कार्यालय प्रमुख ज्योतिषकुमार मिश्रका अनुसार सो क्षेत्रको कामका लागि १५ करोड बजेटको लक्ष्य रहेकामा तीन करोड मात्र प्राप्त भएकालेनिर्माणमा ढिलाइ भएको हो । 

एक अर्ब २६ करोड लगानीको उक्त आयोजना जुम्लाकै गौरवको आयोजना हो । सो बृहत् खानेपानी निर्माणको जिम्मा लिएका कालिका एनभी कनकाई जेभीका सञ्चालक दिपेश शाहका अनुसार सो क्षेत्रमा इन्टेकदेखि लिएर पाइपलाइन १० किमी विस्तारका साथै च्याम्बर निर्माणका कार्य रहेका छन् । 

हिमाली क्षेत्र भएकाले हिउँदे सिजनमा पाइपमा पानी नजम्ने खालको पाइप खरिद प्रक्रियामा रहेको छ । जुम्ला सदरमुकाम खलङ्गामा जनसङ्ख्या बढिरहेको र खानेपानीको अभाव भइरहेको समयमा यहाँका नागरिक धौलीगाड खानेपानीको प्रतीक्षा गरिरहेका छन् । तातोपानी गाउँपालिका–१, बाइराकाका स्थानीय अहिले पनि नदीको पानी खान बाध्य छन् । 

डुङ्ग्रीमा खानेपानी अभाव

सिँजा समाचारदाताका अनुसार जुम्लाको तिला गाउँपालिका–५, डुङ्ग्रीगाउँमा खानेपानीको अभाव छ । गाउँमा पानीको स्रोत नहुँदा स्थानीयले समस्या भोग्नु परेको हो । ४५ घरधुरी परिवारको बसोबास रहेको गाउँमा दशकौँदेखि खानेपानीको अभाव रहँदै आएको छ । पूरै गाउँको एउटा मात्र खानेपानीको धारो हुँदा पानी भर्न लाइन लाग्नु परेको स्थानीयले बताएका छन् । ४५ घरधुरीको साझा धारो छ । सबैले त्यही धाराको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय कालीबहादुर रावतका अनुसार मानिस र पशुचौपायाले एउटै धाराको पानी खानुपर्ने अवस्था छ । गाउँनजिकै पानीका मुहान नभएकाले पशुवस्तु र मानिसले एउटै धारा प्रयोग गर्नु परेको छ । गाउँको चारैतिर पानीको मुहान नहुँदा खानेपानीको चरम सङ्कट रहेको उहाँको भनाइ छ । गर्मी तथा खडेरीको समयमा धारामा पानी सानो आउने गर्दछ । जसका कारण पानी भर्न लामो लाइन बस्नुपर्ने अवस्था रहेको रावतले बताउनुभयो । 

यस्तै जाडोयाममा धारोमा पानी जम्ने हुँदा स्थानीयवासीले हिउँ पगालेर खानेपानीको जोहो गर्ने गर्छन् । लामो समयदेखि खानेपानीको समस्याले डुङ्ग्रीगाउँका स्थानीयले दुःख भोग्दै आएका छन् । खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकारले पहल गरेको नागरिकको गुनासो छ । 

यता तिला गाउँपालिका–५ का वडाध्यक्ष ललितबहादुर शाहीले गाउँनजिकै भएका पानीका स्रोत प्रयोग गरिएको बताउनुभयो । भएका पानीका स्रोत गाउँमा ल्याइएको छ तर गाउँमा पुगेको खानेपानीले समस्या हल नभएको उहाँको भनाइ छ । गाउँनजिकै रहेको धाराखोला मुहानको पानी डुङ्ग्रीमा पु¥याउन यस पटक चार लाख रुपियाँ खर्च गरिएको छ । उपलब्ध पानीका स्रोत सङ्कलन गरी गाउँमा खानेपानी पु¥याइएको शाहीले बताउनुभयो । 

खानेपानीको स्रोत नजिक नभएकाले गाउँमा खानेपानीको समस्या छ । उपलब्ध भएका पानीका स्रोत भने गाउँमा पु¥याइएको वडाध्यक्ष शाहीको दाबी छ । डुङ्ग्रीगाउँमा देखिएको खानेपानीको समस्या हल गर्न वडा सरकार लागिपरेको उहाँले बताउनुभयो । सिँजा गाउँपालिका–६ मा पर्ने जोडु भाँडगाउँमा पानीको स्रोत भए पनि त्यहाँका स्थानीयले दिन मानेका छैनन् ।