राजकुमार भट्टराई
खोटाङ, जेठ ९ गते । फोक्सिङटारस्थित सुनकोशीमा जडान गरिएको बेलिब्रिज झिकिएपछि खोटाङका नागरिकका दुःखका दिन फेरि सुरु भएको छ । दिक्तेल–गाईघाट छोटो सडकबाट तराईका जिल्ला आवतजावत गर्न नपाउने भएपछि खोटाङका नागरिकलाई सास्ती थपिएको हो ।
खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको थियो । सुनकोशी नदीको पानीको सतह बढेपछि बेलिब्रिज झिकिएको छ । बेलिब्रिज झिकिएसँगै पुनः घुर्मी–कटारीको लामो बाटोबाट यात्र गर्न एवं सामान ढुवानी गर्न जिल्लाका नागरिक बाध्य भएका छन् । दिक्तेल–फोक्सिङटार–गाईघाट हुँदै धरान, विराटनगर, काँकडभिट्टालगायतका सहरमा जान सहज थियो । फोक्सिङटारमा रहेको अस्थायी बेलिब्रिज झिकेसँगै खोटाङका नागरिकको दुःखको दिन फेरि सुरु भएको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटार पुल सुनकोशीको बाढीले गत असोज १२ गते बगाएपछि बेलिब्रिज जडान गरिएको थियो । पुलको विकल्पमा हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी गत पुस २७ गते अस्थायी बेलिब्रिज राखिएको थियो । सुनकोशीमा पानीको सतह बढेपछि जेठ महिना सुरु भएसँगै बेलिब्रिज झिक्न सुरु गरिएको थियो । जेठ ५ गतेबाट पूर्ण रूपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलिब्रिज झिकिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका सूचना अधिकारी सुवास तिवारीले जानकारी दिनुभयो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी सहर जाने र आउने छोटो दुरीको बाटो हो तर फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको थियो ।
बेलिब्रिज जडान सकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पुनः फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका थिए । बेलिब्रिज झिकिएसँगै सिधा यातायात टुटेको खोटाङ यातायात व्यवसायी सङ्घका महासचिव राम हिङमाङले बताउनुभयो । जेठ ६ गतेबाट घुर्मी–कटारीको तीन÷चार घण्टाको लामो बाटोबाट तराईका जिल्ला गाडी पठाउन थालिएको उहाँको भनाइ छ ।
फोक्सिङटारमा बेलिब्रिज जडान गर्न र झिक्न गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरको एक करोड दुई लाख ९४ हजार लागतमा निर्माण कम्पनी आर्यान कन्स्ट्रक्सन मल्टिपर्पोज कटारीले ठेक्का लिएको थियो ।
फोक्सिङटारमा २०७९ सालमा १२० मिटर लामो ‘आर्क’ ब्रिज बनेपछि बेलिब्रिज राख्ने र झिक्नुपर्ने बाध्यता अन्त्य भएको थियो तर दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि खोटाङका नागरिकको दुःख पुनः सुरु भएको हो । निर्माण कम्पनी गौरी पार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो तर पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएको हो ।