रामकृष्ण बोहरा
बागलुङ, जेठ ७ गते । बागलुङ नगरपालिकाले तीनवर्षे उपलब्धीलाई ४१ बुँदामा समावेश गरेर सार्वजनिक गरेको छ । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रगतिको सूचीमा नयाँ र तत्कालै सर्वसाधारणले लाभ लिएका भन्दा धेरै नियमित कामकै प्रगति समावेश छन् ।
पहिलो कार्यपालिका बैठकले निर्णय गरेको बालमैत्री नगर घोषणा गरेको विषय प्रगति विवरणमा समावेश छ । आधुनिक बागलुङ बसपार्क उद्घाटन गरेको विषयलाई श्रेष्ठले प्राथमिकताका साथ सूचीकृत गर्नुभएको छ । श्रेष्ठले मङ्गलबार सार्वजनिक गरेको सूचीमा नीतिगत व्यवस्था तथा सुशासनतर्फ नौ वटा बुँदामा प्रगतिको उल्लेख गरिएको छ ।
डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द गरेको, दस तलासम्मको घर निर्माणमा नक्सा पास, कर्मचारीलाई उत्तरदायी बनाइएको, घरदैलो तथा घुम्ती सेवा सञ्चालन, उपभोक्ता सहभागिता दस प्रतिशतमा झारिएको, योजना सम्झौता सहज बनाइएको जस्ता नियमित काम प्रगति विवरणमा नगर प्रमुख श्रेष्ठले उल्लेख गर्नुभएको छ ।
भौतिक उपलब्धीतर्फ सडक तथा भवन निर्माण, खानेपानी र सिँचाइका योजना सञ्चालन गरेको विषय श्रेष्ठका प्रगतिको सूचिमा समावेश छन् । बागलुङ बजारमा आकाशे बत्ती राख्ने, विद्युतीकरण, एकीकृत बस्तीका लागि डिपिआर तयार गरेको र भूमिहिनका लागि जग्गा दिने काम पनि अघि बढेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
सामाजिक विकासतर्फ बालमैत्री नगर बनाउन गरेको मेहनतलाई प्राथमिकता दिँदै विद्यालयको तह मिलान, ज्येष्ठ नागरिकलाई दिइएको सेवा, नगरकी छोरी कार्यक्रम, सामी परियोजनामार्फत गरेका परामर्श र राहत, फोहोर मैला व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका कामलाई तीन वर्षको प्रगति उल्लेख गरिएको छ ।
आर्थिक विकासतर्फ हेफर प्रोजेक्टसँग मिलेर बाख्रा, बोका वितरण, कागती, सुन्तला, ओखर र किवीका बिरुवा वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । गोठ सुधार, नस्ल सुधार, तालिम गोष्ठी लगायतका कार्यक्रमहरू प्रगतिमा उल्लेख छन् । नगरले तीन वर्षको अबधिमा ५८ जना गरीब तथा विपन्न परिवारका युवालाई उद्यम, व्यापार र व्यवसाय सञ्चालनका लागि सहुतिलयमा कर्जा दिएको जनाएको छ ।
सोही अवसरम बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगर स्तरीय खोप समन्वय समितिको आयोजनामा बागलुङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
जन्मेदेखि १५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २३ महिना उमेर समुहका चार सय ४९ जनालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।