टक्सार (भोजपुर), जेठ ६ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताउनुभएको छ । भोजपुर नगरपालिकासँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले जिल्ला सदरमुकाममा आज आयोजना गरेको एक दिवसीय गोष्ठीमा कुलपति हार्तम्छालीले प्रतिष्ठानको स्थापना, उद्देश्य, गर्दै आइरहेका कार्यहरू, समस्या र चुनौतीका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि प्रतिष्ठानमा विभिन्न विभागहरू समेत गठन भएको उहाँले बताउनुभयो । रैथाने कलाको संरक्षण र सम्वर्धन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले ललितकलालाई प्रोत्साहन जरुरी रहेको बताउँदै गुरुयोजना निर्माणमा ध्यान नदिँदा घरेलु उद्योग धराशायी बन्दै गएको बताउनुभयो ।
संस्थागत रूपमा आफ्ना मागहरू राख्न व्यवसायीलाई आग्रह गर्दै नगर प्रमुख आलेले उत्पादनसँगै बजारीकरणका लागि सरकारले सुनिश्चित गर्नसकेमा हस्तकलाकर्मीहरूलाई प्रोत्साहन हुने धारणा राख्नुभयो । प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाले लोप भएका रैथाने कलाको संरक्षण र सम्वर्धन जरुरी रहेको बताउँदै पुराना कलाहरूको संरक्षण र सम्वर्धनमा सबैको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताउनुभयो ।
भोजपुरका परम्परागत कला कौशलहरूका विषयबारे तीर्थराज मुकारुङ राई र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले तयार पार्नुभएको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमा जिल्लामा चलेका परम्परागत कला कौशलहरू र पछिल्लो समयमा हस्तकलाका सामग्रीको खस्कँदो अवस्थाका बारेमा उल्लेख गरिएको थियो । कार्यपत्रमाथि पेसागत महासङ्घका अध्यक्ष योगराज लुइँटेलले टिप्पणी गर्नुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङ्माङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठान पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न घरेलु व्यवसायी, धातु व्यवसायी, कालीगढ, उद्योगी व्यवसायी, महिला, पत्रकारलगायतको सहभागिता थियो । रासस