• २९ वैशाख २०८१, शनिबार

ताप्लेजुङमा औद्योगिक तथा पर्यटन मेला

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २८ गते । ताप्लेजुङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेलामा सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो मेलामा राडीपाखी, अल्लो, ढाका, काठजन्य सामग्रीलगायत स्थानीय घरेलु उत्पादनका तीन दर्जनभन्दा बढी स्टल राखिएका छन् । 

स्थानीय उत्पादनको प्रवद्र्धन, विकास र बजारीकरण गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको यो मेलामा ताप्लेजुङसहित पाँचथर, इलाम र तेह्रथुम जिल्लाका उद्यमीद्वारा उत्पादित सामग्री राखिएको छ । 

ताप्लेजुङ जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले पहिलो पटक औद्योगिक तथा पर्यटन मेला–२०७९ को आयोजना गरिएको मेला आयोजक संस्था घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । 

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा आयोजित मेलामा घरेलु उत्पादनका स्टलसँगै उद्यमीलाई विभिन्न सीप र क्षमता अभिवृद्धि गराउने गरी अन्तक्र्रिया र प्रयोगात्मक अभ्याससमेत गराइने कार्यक्रम छ । उद्यमीबीचको सीप आदानप्रदान गराउने उद्देश्यले शुक्रबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामको उपस्थितिमा उद्यमीबीच अन्तक्र्रिया गरिएको छ । 

अन्तक्र्रियामा आफूले प्राप्त गरेको सीप र दक्षताबारे उद्यमीबीच छलफल भएको महासङ्घका सचिव हर्कराज गुरुङले बताउनुभयो । अन्तक्र्रियाले एकअर्काको सीप आदानप्रदान गर्नमा सहयोग पुग्ने विश्वास राखिएको पनि गुरुङको भनाइ छ ।