चितवन समाचारदाता
चितवन, जेठ ६ गते । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदन भण्डारीको शव प्राप्त भएको चितवनको गाँजीपुरमा स्मृति सभा गरिएको छ । जेठ ३ गते दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनापछि जेठ ५ गते भरतपुर महानगरपालिका–१७, गाँजीपुरमा भण्डारीको शव फेला परेको थियो । मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले मदन भण्डारीको विचार नभएको भए अहिले एमाले व्रmमशः मोहनविव्रmमकै पार्टीको हालतमा पुगिसकेको हुने बताउनुभयो ।
समयको गतिमा नीतिको परिवर्तन हुँदै जाने भन्दै ज्ञवालीले भन्नुभयो, “माक्र्सवादको सिर्जनात्मक विकास र प्रयोग अहिलेको आवश्यकता हो ।” विगतमा हिंसात्मक सङ्घर्ष चलाउने पनि १० वर्षपछि मदन भण्डारीको नाम लिएर वा नलिएर जनताको बहुदलीय जनवादको बाटोमा आउन बाध्य भएको बताउँदै ज्ञवालीले भन्नुभयो, “माओवादीले जनताका नाममा चलाएको हिंसात्मक आन्दोलनको अवसान भयो, जनताको बहुदलीय जनवाद स्थापित भयो ।”
माओवादीलाई यो कुरा स्वीकार गर्न गाह्रो भइरहेको भन्दै ज्ञवालीले भन्नुभयो, “यो कुरालाई अझै पनि स्वीकार गर्न गाह्रो भए कानलाई सिधै नसमाएर घुमाएर समाउनुहोस् तर योभन्दा अर्काे बाटो छैन ।”
स्मृति सभामा बोल्दै एमाले केन्द्रीय सदस्य यमबहादुर परियारले कुनै पनि कम्युनिस्ट पार्टीलाई सही दिशामा अघि बढाउनका लागि पार्टीको राजनीतिक कार्यदिशा सही हुनुपर्ने बताउनुभयो । नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अघि बढाउने नेतृत्व एमालेले गरिरहेको उहाँको भनाइ थियो ।
एमाले बागमती प्रदेश उपाध्यक्ष एवं पूर्वमन्त्री दावादोर्जे लामाले विश्व कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सक्ने देखेपछि योजनाबद्ध ढङ्गले स्वदेशी तथा विदेशी शक्तिले मदन भण्डारीको हत्या गरेको बताउनुभयो । यसको वास्तविक हत्यारा अहिलेसम्म पत्ता लगाउन नसकिएको भन्दै उहाँले भन्नुभयो, “कुनै दिन पत्ता लाग्छ भन्नेमा विश्वस्त छौँ ।” एमाले बागमती प्रदेश कमिटी सदस्य एवं फाउन्डेसनका केन्द्रीय सदस्य राम न्यौपाने, मदन भण्डारी फाउन्डेसन चितवनका अध्यक्ष एवं सभाका अध्यक्ष डा. तिलचन्द्र भट्टराईलगायतले बोल्नुभएको थियो ।
विसं २०५० जेठ ३ गते नारायणगढ–मुग्लिङ सडकखण्डको दासढुङ्गामा नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित सवार जिप रहस्यमय दुर्घटनामा परेको थियो । आश्रितको शव दासढुङ्गामा नै भेटिएको थियो भने भण्डारीको शव घटना भएको तीन दिनपछि गाँजीपुरमा भेटिएको थियो ।