नवीनराज कुइँकेल
लमजुङ, जेठ ५ गते । लमजुङको दोर्दी गाउँपालिकामा करिब सातसय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ । गाउँपालिकाको प्राविधिक सहयोग तथा अनुदानमा दोर्दीका किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका हुन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानी खेतीका लागि ३० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानी खेतीका लागि विनियोजित बजेटबाट खुर्सानी खेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो ।
व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ ।
यसअघि गत वर्ष दोर्दी गाउँपालिका ४ कामचोक, बाँसबोट र साँधिखोला गाउँमा किसानहरुले व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गरेका थिए । परम्परागत रुपमा कोदो खेती गर्दैआएको जमिनमा खुसार्नी खेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यसवर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलले जानकारी दिनुभयो ।
गत वर्ष पनि अकबरे खुर्सानी खेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरेको छ । किसानलाई हौसला दिन गाउँपालिका अध्यक्ष युवराज अधिकारी, वडाअध्यक्ष मिनबहादुर गुरुङ, कृषि शाखा प्रमुख निराजन पौडेल किसानको बारीमा पुगेर खुर्सानीका बेर्ना सार्न सहयोग गर्नुभएको थियो ।
परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानी खेती सुरु गरेका दोर्दीका किसान यसपटक उत्साहित बनेका छन् । उत्पादन गरेको खुर्सानीले सहज रुपमा बजार पाएपछि किसानहरु थप उत्साहित भएका हुन् ।