शालिग्राम नेपाल
चितवन, जेठ ५ गते । गोरखापत्र संस्थानद्वारा प्रकाशित साहित्यिक मासिक ‘मधुपर्क’ को बन्दीपुर विशेषाङ्क सोमबार नारायणगढमा सार्वजनिक गरिएको छ।
बन्दीपुरबाट नारायणगढ बसाइँ सरेका नागरिकहरूको सामाजिक संस्था, बन्दीपुर गाउँपालिका तथा वन्दीपुर विकास समितिको आयोजनामा तालपार्क नारायणगढमा विमोचन कार्यक्रम सम्पन्न भएको हो।
मधुपर्कको यो विशेषाङ्कमा बन्दीपुरको समृद्ध इतिहास, विकासक्रम, यसले जन्माएका साहित्यकार तथा समाजसेवी व्यक्तित्व, साथै नारायणगढ र बन्दीपुरबीचको सम्बन्धलाई समेटिएको छ।
कार्यक्रममा भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मीले बन्दीपुरको इतिहासलाई समेटिएकोमा प्रसन्नता व्यक्त गर्दै यस अंकले संग्रहयोग्य सामग्री प्रस्तुत गरेको बताउनु भयो। उहाँले भविष्यमा भरतपुरको साहित्यिक इतिहासलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर ऐतिहासिक मात्र नभई पुरातात्त्विक दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहेको जानकारी दिनुभयो ।
उहाँले नारायणगढ र बन्दीपुरबीचको ऐतिहासिक सम्बन्धलाई दीर्घकालीन बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र दैनिकलाई देशकै ऐतिहासिक अभिलेखका रूपमा चित्रण गर्दै मधुपर्कले साहित्य, इतिहास, भाषा र सामाजिक चेतनामा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘गोरखापत्रको प्रकाशन मधुपर्क पढेर साहित्यमा लाग्ने स्रष्टाहरू धेरै छन्। मधुपर्कले लेखक, साहित्यकार, समाजसेवी र इतिहासकार जन्माउन मद्दत गरेको छ।’’
कार्यक्रममा मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले वबन्दीपुर र नारायणगढको ऐतिहासिक सम्बन्धको दस्तावेजीकरण गरिएकोमा जोड दिँदै आउँदो दिनमा नारायणगढको साहित्यिक र सामाजिक इतिहाससमेत मधुपर्कमा समेट्ने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बन्दीपुरले आर्जेको नारायणगढ बजारको इतिहास, जंगल फाडेर वस्ती बसाल्ने परिश्रम—यी सबै अब लिपिबद्ध गरिनु आवश्यक छ।’’
कार्यक्रममा बन्दीपुरमा निर्माण गर्न लागिएको मानव निर्मित पर्यटकीय स्थल ‘बन्दीकापुर ताल पार्क’ को विषयमा पनि चर्चा भयो।
ताल निर्माणका योजनाकार नमस्ते लाल भूमि श्रेष्ठले यस तालले बन्दीपुरको पर्यटन विकासमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । ताल निर्माणका लागि राजकुमार पियाले दुई रोपनी जग्गा दान गर्नुभएको छ ।
कार्यक्रममा समाजका तर्फबाट विभिन्न व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको समाजका सदस्य राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो ।