• २६ जेठ २०८२, सोमबार

सार्वजनिक सेवा प्रसारण : रुपान्तरण वहस

सार्वजनिक सेवा प्रसारणको नयाँ दिशा : प्रभाव, पहुँच र परिवर्तनको खोजी

blog

सार्वजनिक सेवा प्रसारणको रुपान्तरण बहसका सहभागी । तस्बिर : नेपाल टेलिभिजन

काठमाडौं, जेठ ५ गते । सार्वजनिक सेवा प्रसारण नेपालले रुपान्तरण बहस गरेको छ । ‘सार्वजनिक सेवा प्रसारण विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा गरिएको रुपान्तरण वहसमा दुईवटा सत्रमा छलफल भयो । 

पीएसवी : प्रभाव र प्रवर्द्धन विषयक सत्रमा बक्ताहरुले जनताको चासोका विषयवस्तुलाई प्राथमिकता दिएर बजारमा प्रभाव र प्रबर्द्धन गर्नुपर्ने बताउनुभयो । 

उहाँहरुले तथ्यांकमा आधारित भएर श्रोता र दर्शकको बदलिँदो चाहनालाई सम्बोधन गर्न पनि सुझाव दिनुभयो । अहिले मिडियामा अस्वस्थ प्रतिस्पर्धा देखिएकाले जनचासोको विषय छायाँमा परेको भन्दै विज्ञहरुले समयको माग, जनताको आवश्यकता, सबै वर्गको विषय उठान जरुरी रहेको बताएका छन् । 

नेपाल विज्ञापन एजेन्सी संघका प्रथम उपाध्यक्ष उजय शाक्यले टेलिभिजन र रेडियो मार्फत दिइने सामग्री तथ्यांकसहित जनचासोको विषय रहनुपनेृमा जोड दिनुभयो ।

कोकाकला बहुराष्ट्रिय कम्पनीका बजार परामर्शदाता आस्रा भट्टराईले  कुन उमेर समुदायले कस्तो कार्यक्रम समाचारको समाग्री हेर्न वा सुन्न चाहन्छन् त्यसको अध्ययन गरी अघि बढ्न आवश्यक रहेको धारणा राख्नु भयो .

बहुराष्ट्रिय कम्पनी डावरका बजार प्रमुख अभय गोर्खालीले जनचाहना अनुरुपका सामग्रीले बजारमा अझै राम्रो प्रभाव पर्ने सुझाव दिनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका संचालक समिति सदस्य फूलमान बल तामाङले समयको आवश्यकता  अनरुप पीएसबीको सामग्रीहरु उत्पादन गर्ने उद्देश्य रहेको बताउनुभयो । मार्गदर्शन सिद्धान्तका आधारमा राष्ट्रिय एकता, राष्ट्रिय आवश्यकता तथा बजारको आवश्यकतालाई ध्यानमा राख्दै अघि बढ्ने योजना रहेको उहाँको धारणा छ ।

संचालक समितिका अर्का सदस्य अनिता गुरुङले समाचार कार्यक्रमका हालका समाचार तथा कार्यक्रमका सामग्रीहरुलाई परिमार्जन गर्दै केही नयाँ अगाडि बढाउने बताउनु भयो । पिएसबीको जनताकै पक्षमा काम गर्ने उद्देश्य रहेका कारण सोही अनुरुप अघि बढ्ने उहाँको धारणा थियो ।

कार्यक्रमका सहभागी विज्ञहरुले नाफामुखी निजी सञ्चारगृहभन्दा अलि फरक ढङ्गले पीएसबी जानुपर्ने सुझाव समेत दिनुभएको छ ।

यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा भएको सार्वजनिक सेवा प्रसारणमा विषयवस्तुमा विशिष्टता शीर्षकको छलफलमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग प्रमुख डा. कुन्दन अर्यालले पहिलेको दाँजोमा पिएसवी पछि नीतिमा स्पष्टता आएको भए पनि अनुसन्धान निकाय, कार्यक्रमको निर्देशिका बनाएर अघि बढ्दा नतिजामुखी हुने सुझाव दिनुभयो ।

आमसञ्चार विज्ञ डा. रघु मैनालीले स्नेह र आशा जगाउने कार्यक्रमहरुको निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । रेडियो नेपाल र नेपाल टेलिभिजनबाट हाल प्रसारण भइरहेका सामग्री आमनागरिकमैत्री प्रारुपमा नभएकाले प्रष्ट सन्देश दिएर माध्यमहरुको गुमिरहेको साख बचाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

लैङ्गिक समानता र समावेशी विज्ञ भारती सिलवाल गिरीले पिएसवीको प्रारम्भ लैङ्गिक समानता र समावेशीकरणमा रुपान्तरणका लागि अवसर भएको बताउँदै जनताले भोग्नु परेका भेदभाव, छुवाछूत, भेदभाव, अन्याय, हिंसालगायतका विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । पिएसबी सञ्चालक समितिका सदस्य डा. भूमिराज चापागाईँले विज्ञहरुको सुझावसँगै दर्शक र श्रोतालाई ध्यानमा राखेर सर्वेक्षणका माध्यमबाट प्राप्त तथ्याङ्कका आधारमा भावी कार्यक्रमहरु निर्माण गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।