• ८ जेठ २०८२, बिहिबार

पोखरामा प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे जाँच

blog

प्याराग्लाइडिङ पाइलटको मापसे र लापसे जाँच गर्दै कास्की प्रहरी । तस्बिर : गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ५ गते । पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित प्याराग्लाइडिङ उडान हुने स्थान मान्द्रेढुङ्गामा सोमबार प्याराग्लाइडिङ पाइलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) जाँच गरिएको छ । 

कास्की प्रहरीले व्यवसायी र पाइलट क्लबका प्रतिनिधिको उपस्थितिमा कास्कीमा पहिलो पटक प्यारा पाइलटहरुको मापसे र लापसे जाँच गरेको हो । ३९ जना पाइलटको मापसे र सोहीमध्येका १५ पाइलटलाई लापसे चेकजाँच गर्दा एक जना पाइलटले मापसे र लापसे दुवै सेवन गरेको भेटिएको छ ।

प्यारा पाइलट पोखरा–१८ का ३० वर्षीय विशालबहादुर क्षेत्रीले मापसे र लापसे गरेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअघि बढाएको छ । 

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले प्यारा पाइलटहरुले मापसे र लापसे गरेको हुन सक्ने सूचना प्राप्त भएको आधारमा आकस्मिक चेकजाँच गरिएको जानकारी दिनुभयो । “हामीलाई त्यसो हुन सक्ने सूचना प्राप्त भएको थियो, आकस्मिक चेकजाँच गर्ने क्रममा एक जनाले मापसे र लापसे दुवै गरेको पाएपछि नियन्त्रणमा लिएर कारवाही सुरु गरेका छौँ,” उहाँले भन्नुभयो । 

नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष अनिल केसीले पाइलटहरुको लाइसेन्स लिने बेलामा र बर्सेनि नवीकरणका बेला स्वास्थ्य जाँच हुने भए पनि बेला बेलामा हुन सक्ने हेलचेक्रयाइ रोक्ने यस्ता परीक्षणले सघाउने उल्लेख गर्नुभयो ।

“हामीले मापसे, लापसे जाँच आफैं गर्न सक्ने अवस्था हुँदैन, प्याराग्लाइडिङ जस्तो जोखिमपूर्ण र संवेदनशील क्षेत्रमा हुन सक्ने लापरवाही रोक्न बेला बेलामा यस खालका जाँच हुनु जरुरी छ,” उहाँले भन्नुभयो । 

अहिले पोखरामा ५७ प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । चार सय हाराहारी प्यारा पाइलटले उडानका लागि लाइसेन्स लिएकोमा दुई सय ६० जना नियमित काममा छन् । अहिले पोखरामा प्याराग्लाइडिङ शुल्क आठ हजार पाँच सय रुपैयाँ छ । पोखरामा दैनिक औसत दुई सय जनाले प्याराग्लाइडिङ गर्ने गरेका छन् ।