प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), जेठ ५ गते । रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मा अनुगमन गर्न गएका औषधी व्यवस्था विभागका कर्मचारी नै कुटिएका छन् ।
औषधी पसल दर्ता नगरी चलाएको, बिक्री वितरणमा रोक लगाइएको औषधी समेत विक्री गरेको उजुरीको आधारमा औषधी ब्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्ज टोली अनुगमन गर्न जाँदा स्थानीयले कुटपिट गरेको औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताउनुभयो ।
स्थानीयले गरेको प्रतिकारमा फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते हुनुभएको छ । घाइते जयसवाल र शर्माको अवस्था सामान्य रहेको छ ।
अनुगमन टोलीमा औषधि ब्यवस्था बिभाग क्षेत्रीय कार्यालय वीरगन्जका कर्मचारी सँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसाद तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्रराज कँडेल हुनुहुन्थ्यो ।
स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइल फुटाएको छ । राजपुर नगरपालिका वडा नं. ५ का ५५ वर्षीय सुमित्रा देवीले औषधी व्यवस्था विभागका कर्मचारीलाई बचाउन खोज्दा घाइते हुनुभएको छ । उहाँको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।
स्थानियले औषधी व्यवस्था विभागका कर्मचारीको आवश्यक कागजात समेत खोसेको छ । जिल्ला प्रहरी कार्यालय गौरबाट गएको प्रहरीको थप टोलीले अनुगमनमा गएका कर्मचारीलाई उद्धार गर्न सफल भएको अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसादले बताउनु भयो ।
स्थानिय शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौंदेखि औषधी पसल सञ्चालन गर्दै आएको उजुरीपछि विभागको टोली अनुगमनमा आएको थियो ।
घटनाको सूक्ष्म तरिकाले अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।