• ५ जेठ २०८२, सोमबार

जुम्लाबाट लाखौँको अर्गानिक खाद्य वस्तु निर्यात

blog

जुम्ला सदरमुकाम चन्दननाथ मन्दिर अगाडि राखिएको चन्दननाथ मिनी मार्केटमा अगानिक खाद्य वस्तु खरिद गर्दै सेवाग्राही । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, जेठ ५ गते ।
काठमाडौँमा बसेर अधिवक्ताको पेसामा काम गर्नुहुने रत्नबहादुर बुढाले जुम्ला आउदा अर्गानिक खाद्य वस्तुको खोजी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित अर्गानिक खाद्य वस्तु मार्सीचामल, सिमीकोदाल ओखर, जुम्मु लगायतका वस्तुहरू लिएर फर्किनुभयो ।

जुम्लामा आउने पर्यटकदेखि स्थानीय व्यक्तिहरू अर्गानिक कोशेली खरिद गर्ने आधार अहिले जुम्लामा कोशेलीघर तथा अर्गानिक घर स्थापन भई लाखौँको अर्गानिक वस्तु निर्यात भइरहेको छ । यो मात्र नभई जिल्लाका विभिन्न कोशेली घरमा अर्गानिक खाद्य वस्तु निर्यात भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि चन्दननाथ सहकारीबाट स्थापित चन्दननाथ अर्गानिक मिनी मार्केटले मात्रै बर्सेनि करोडभन्दा बढिको विभिन्न खाद्य वस्तु तथा स्थानीय उत्पादन बिक्री गर्ने गरेको छ । चन्दननाथ सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेका अनुसार चन्दननाथ सहकारीले जुम्लाको चन्दननाथ नगरपालिका, कालीकोट र जुम्लाको सीमाक्षेत्र नाग्म बजार, कर्णाली प्रदेशको राजधानी सुर्खेत र काठमाडौँमा समेत अर्गानिक पसल राखेर जिल्ला अर्गानिक खाद्यान्नको व्यापार गर्दै आएको छ ।

चन्दननाथ सहकारीबाट अर्गानिक खाद्य वस्तुहरू निर्यात गरिँदै आएको छ । उहाँका अनुसार चन्दननाथ अर्गानिक मिनी मार्केट जुम्लाबाट मात्रै बर्सेनि लाखौँको खाद्यन्न जिल्ला बाहिर जान्छ । चन्दननाथ मन्दिर तथा जुम्ला आउने पर्यटकहरू यहाँको मार्सी चामल, सिमीको दाल, चिनो, कागुनुको चामल, यहाँको कोदो तथा फापरको पिठो बिक्री भइरहेको जानकारी दिनुभयो ।

चन्दननाथ सहकारीका अनुसार वि.सं २०७६ सालदेखि हालसम्म सिमी मात्रै ८१ हजार केजी एक करोड ७५ लाख ५० हजार रुपियाँको बिक्री गरेको छ । यसैगरी, मार्सीचामल र धान ८१ लाखको बिक्री भएको छ । ओखर मात्रै एक करोड २६ लाखको बिक्री भएको छ ।

त्यस्तै, स्याउको चाना ७२ लाख, जिम्बो ५७ लाख ६० हजार, टमुर २१ लाख ६० हजार, चिनु मुरी ६२ लाख १० हजार, कागुनो ५७ लाख ५० हजार, फापरको पिठो  ५४ लाखको, कोदो १३ लाख ५० हजार, अर्गानिक जडिबुटी चिया १६ लाख २० हजार, जौ को पिठो १३ लाख ५० हजार रुपियाँको बिक्री भएको छ । साथै, सेतो भट्ट १८ लाख ९० हजार,  गहत २४ लाख ५० हजार, गुराउस १७ लाख ५० हजार, कला एक लाख १२ हजार पाँच सयको बिक्री भएको छ ।

जुम्लामा उत्पादन भएको अर्गानिक खाद्य वस्तु गाउँगाउँबाट खरिद गर्ने तथा बजारीकरण गर्ने विषयमा जोड दिइएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा नेपालगन्ज, सुर्खेत र काठमाडौँमा ६०८ मेट्रिक टन जुम्ली भेडाबाट बनेको राडी पाखी ३६ लाख ४८ हजार जिल्ला बाहिर निर्यात भएको छ । 

कार्यालयका अनुसार ३८० मेट्रिक टन ६८ लाख ४० हजार हिमाली भेडाको ऊनको कोटेपाखो, १२ लाख ३६ हजारको खरायोको टोपी, १३ लाख २० हजारको खसीको मासु समेत निर्यात भएको छ । जुम्लामा उत्पादन हुने अर्गानिक खाद्य वस्तु तथा यहाँको उत्पादन जिल्ला बाहिर निर्यात हुन सजिलो भइरहेको छ । रारालिही अर्गानिक खाद्यन्न कोशेली पसलले पनि सिमि, मार्सिधान, चामल, ओखर, चिनु, कागुनुलगायतका खाद्य वस्तुहरू बर्सेनि करोडौंको बिक्री गरिरहेको सञ्चालक अर्जुन बुढाले जानकारी दिनुभयो ।