• १९ असार २०८१, बुधबार

रातको समयमा पृथ्वीराजमार्ग बन्द

blog

पृथ्वीराजमार्गको सडक भासिएको क्षेत्र। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २७ गते। रातको समयमा पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्ड बन्द गरिएको छ। सडक भासिएर जोखिम भएकाले रातको समयमा सो खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै पहिले सडक अवरुद्ध भएको हुँदा अर्को सूचना नभएसम्मको लागि रातको समयमा बन्द गरिएको जनाइएको छ। 

उक्त सडकमा गुड्ने माल बाहक सवारीलाई वैकल्पिक बाटोबाट सञ्चालन गर्न सूचित गरिएको छ। साना यात्रुबाहक सवारी साधन (माइक्रो) र दुई पाङ्ग्रे सवारी साधन बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ। पहिलो गएको ठाउँमा दिउँसोबाट एकतर्फी साना सावारी साधन सञ्चालनमा ल्याइएको थियो।

 सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, तनहुँको डोजरको सहायतामा सडक माथिको पहिरो काटेर, मोटरसाइकल, कार र माइक्रोबस जस्ता साना सवारी साधन सञ्चालनमा ल्याउन अनुमति दिइएको थियो। सो क्षेत्रमा साना सवारी साधन सञ्चालन गर्नसमेत जोखिम कायम भएकोले समय निर्धारण गरिएको सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो।


तनहुँको आँबुखैरेनी खैरेनी गाउँपालिका-४ मस्‍याङदी जलविद्युत केन्द्रको पावर हाउस नजिक शुक्रबार बिहान ४ बजे सडक भासिएकोले सडक अवरुद्ध भएको हो।