• २९ वैशाख २०८१, शनिबार

चीन र अमेरिकी रक्षामन्त्री बीच सिङ्गापुरमा भेट हुने

blog

बेइजिङ, जेठ २७ गते । संयुक्त राज्य अमेरिका र चीनका रक्षामन्त्रीहरू बीच शुक्रबार सिङ्गापुरमा साङ्ग्रि–ला संवाद सुरक्षा शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनबीच हुने उक्त वार्ता अस्टिनले पदभार ग्रहण गरेपछि पहिलो पटक हुँदैछ। विश्वका शीर्ष सैन्य अधिकारीहरू, कूटनीतिज्ञहरू र हतियार फर्महरूका लागि एक  मञ्च, साङ्ग्रि–ला संवाद जुन १० देखि १२ सम्म दक्षिणपूर्वी एसियाली शहरमा आयोजना हुँदैछ ।

कोभिड–१९ महामारीका कारण दुई पटक स्थगित भएपछि सन् २०१९ यता पहिलो पटक सो कार्यक्रम आयोजना गरिदैछ। चीन र अमेरिकाले हालैका वर्षहरूमा लगभग पूरै दक्षिण चीन सागरमा बेइजिङको दाबीका साथै ताइवानमाथिको चर्काचर्कीलाई लिएर चिन्ता व्यक्त गरेका छन्  ।

सत्तारुढ कम्युनिष्ट पार्टीले प्रजातान्त्रिक, स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भएको दाबी गरेको छ र आवश्यक परे एक दिन बल प्रयोग गरेर भए पनि कब्जा गर्ने वाचा गरेको छ ।

त्यस्तै, हालसालै युक्रेनमा रुसको आक्रमणलाई लिएर दुई पक्षहरू विवादमा परेका छन् ।  यसै बीच वाशिङ्गटनले बेइजिङले मस्कोलाई मौन समर्थन गरेको आरोप लगाएको छ। चीनले  भने युद्ध अन्त्य गर्न वार्ताको लागि आह्वान गरेको छ तर रुसको कार्यको निन्दा गर्न छोडेको छ र युक्रेनलाई अमेरिकी हतियार अनुदानको बारम्बार आलोचना गर्दै आएको छ ।