• ३१ वैशाख २०८२, बुधबार

रिकण्डिसन व्यवसायीका समस्याबारे यातायात मन्त्रीको ध्यानाकर्षण

blog

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेटवार्ता गर्नुहुँदै नेपाल अटोमोटिभ व्यवसायी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियालगायत ।

काठमाडौँ, वैशाख ३१ गते । नेपाल अटोमोटिभ व्यवसायी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई रिकण्डिसन व्यवसायीले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ ।

आफूहरूले भोग्नुपरेको समस्याबारे वरिष्ठ उपाध्यक्ष चिमोरियाले मन्त्री दाहालको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

भेटका क्रममा यातायात मन्त्री दाहालसँग विगतमा बुझाएको ज्ञापनपत्र स्मरण गराएको बताउनुभएको छ । ‘‘मन्त्रीज्यूले व्यवसायीलाई परेको समस्या समाधान गर्न आवश्यक पहल, निर्देशन र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’’ चिमोरियाले भन्नुभयो, ‘‘मन्त्रीज्यूले कानुन संशोधन गरेरै भए पनि व्यवसायीहरूले भोग्नुपरेका कानुनी बाधा–अड्चन फुकाउने विश्वास व्यक्त गर्नुभएको छ ।’’

रिकण्डिसन व्यवसायीहरूले फाइलसम्बन्धी झन्झट, खरिद–बिक्रीमा अनावश्यक लफडा, चेक बाउन्स, रिफाइनान्स, पार्किङको तनाव, यातायात कार्यालयमा भोग्नुपर्ने प्रक्रियागत सास्ती र प्राविधिक चेकजाँचमा उपकरण अभाव लगायत समस्या समाधान गरी व्यवसायीहरूलाई उपयुक्त वातावरण बनाउनुपर्ने लगायतका माग राख्दै आएका छन् । 

मन्त्री दाहालसँगको भेटमा चिमोरियाले अटोमोटिभ व्यवसायीलाई समेत ध्यानमा राखेर बजेट ल्याउन अनुरोध गरिएको उल्लेख गर्नुभएको छ । ‘‘उहाँले बजेटमा रिकण्डिसन व्यवसायीको मागसहितको बुँदा समेट्ने बताउनुभएको छ ।’’उहाँले भन्नुभयो ।

रिकण्डिसन व्यवसायीहरूले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरी आफूहरूले खेप्नुपरेको समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइसकेका जानकारी दिनुभयो । त्यस्तै, गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरी समस्या समाधानका लागि गम्भीर हुन आग्रह गरिएको बताउनुभयो । गृहमन्त्री लेखकले केही दिनभित्रै व्यवसायीहरूलाई मन्त्रालयमा बोलाएर सरोकारवाला निकाय र मातहतका अधिकारीसँग छलफल गरी अविलम्ब निकास निकाल्ने आश्वासन दिनुभएको छ ।