• ३० वैशाख २०८२, मङ्गलबार

एक करोड ३६ लाखको चामल बिक्री

blog

ताप्लेजुङस्थित खाद्य कम्पनीको गोदाममा रहेको चामल । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख ३० गते ।
ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दस महिनाको अवधिमा करिब एक करोड ३६ लाख रुपियाँ बराबरको चामल बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको वैशाखसम्ममा उक्त मूल्य बराबरको चामल बिक्री गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार चालू आवको साउनदेखि वैशाख २८ गतेसम्ममा कुल एक करोड ३५ लाख ८३ हजार ७५ रुपियाँको चामल बिक्री गरेको छ । कम्पनीले सोना मन्सुली र स्टिम जिरा मसिनो गरी दुई किसिमको चामल बिक्री गर्दै आएको शाखाका सहायक एवम् सूचना अधिकारी जलान्धरप्रसाद यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार ८५ लाख ७९ हजार ८५० रुपियाँको स्टिम जिरा मसिनो चामल बिक्री गरिएको छ । प्रतिक्वीन्टल (१०० केजी) नौ हजार ४०० रुपियाँका दरले ९१२ क्वीन्टल ७५ किलोग्राम स्टिम जिरा मसिनो चामल बिक्री भएको छ । यस्तै, प्रतिक्वीन्टल छ हजार सात सय रुपियाँका दरले ७४६ क्वीन्टल ७५ किलोग्राम सोना मन्सुली चामल बिक्री गरेको यादवले बताउनुभयो । उहाँका अनुसार उक्त परिमाण बराबरको चामलको मूल्य ५० लाख तीन हजार २२५ रुपियाँ भएको छ ।

यसअघि दसैँ तिहारजस्ता चाडपर्वको अवसरमा छुट मूल्यसहित सुफत मूल्यमा चामल बिक्री गरेका कारण चामल राम्रै परिमाणमा बिक्री भएको शाखा प्रमुख सर्मिला मिश्रले जानकारी दिनुभयो । शाखा प्रमुख मिश्रका अनुसार ताप्लेजङ जिल्लाका लागि चामलको कोटा एक हजार पाँच सय क्वीन्टल रहेकोमा ५०० क्वीन्टल थप गरिएको छ ।

शाखा प्रमुख मिश्रले थप गरिएको समेत दुई हजार क्वीन्टल चामल आयात भएकोमा हालसम्म बिक्री भएर स्टिम जिरा मसिनो १७८.२५ क्वीन्टल र सोना मन्सुली १२७.२५ क्वीन्टल मात्र चामल मौज्दात रहेको बताउनुभयो । गुणस्तर राम्रै भएको र मूल्य पनि खुला बजारमा भन्दा सस्तो भएकाले चामल राम्ररी नै बिक्री भइरहेको उहाँको भनाइ छ । कम्पनीले बिक्री गर्ने चामलबारे प्रचारप्रसार अझ व्यापक भएमा जिल्लाको वार्षिक कोटाले नधान्ने अवस्था रहेको पाइएको उहाँले बताउनुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म सदरमुकाम फुङ्लिङदेखि मात्र चामल बिक्री गरिरहेको छ । कम्पनीले प्रत्येक स्थानीय तहमा बिक्री केन्द्र स्थापना गरी चामल बिक्री गर्ने योजना बनाएको र सोहीअनुसार ताप्लेजुङमा पनि पहल भइरहेको शाखाले जनाएको छ । स्थानीय तहहरुले चामल राख्ने गोदाम (भण्डारण कक्ष) को व्यवस्था गर्नुपर्ने कम्पनीको योजना रहेको र सो योजनाअनुसार सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको शाखा प्रमुख मिश्रले जानकारी दिनुभयो ।