काठमाडौँ, वैशाख ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रगतिको प्रस्थान विन्दु नै आशाको सञ्चार भएको बताउनुभएको छ ।
मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित प्रज्ञा पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री पाण्डेले पछिल्लो समय निराशाका सन्देशहरूलाई बढी प्राथमिकता दिइएको उल्लेख गर्नुहुँदै त्यसले देशको विकासमा अवरोध पुर्याउने बताउनुभएको हो ।
उहाँले देश हाल कुनै पनि प्रकारको द्वन्द्वमा नरहेको तथा सबै मित्र राष्ट्रसँग सु–सम्बन्ध कायम रहेकाले देखिएका समस्या समाधान हुँदै गएको उल्लेख गर्नुहुँदै देश विकासको गतिमा तीव्रता लिने चरणमा प्रवेश गरिएको बताउनुभयो ।
मन्त्री पाण्डेले साहित्यकारहरूले समाजलाई अग्रगमनतर्फ डोर्याउने महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै समाजको प्रवृत्ति सुधारमा उनीहरूको योगदान अपरिहार्य रहेको जानकारी दिनुभयो ।
समारोहमा यस वर्ष प्रज्ञा भाषा पुरस्कार २०७८ चूडामणि रेग्मीलाई, प्रज्ञा सामाजिकशास्त्र पुरस्कार २०७८ दिल साहनीलाई, प्रज्ञा संस्कृति पुरस्कार २०७८ डिक बान्तावालाई, प्रज्ञा बालसाहित्य पुरस्कार २०७८ शारदारमण नेपाललाई, प्रज्ञा साहित्य पुरस्कार (पद्य) २०७८ जसराज किरातीलाई, प्रज्ञा साहित्य पुरस्कार (गद्य) २०७८ कृष्ण धरावासीलाई, प्रज्ञा समालोचना पुरस्कार २०७८ डा. सुधा त्रिपाठीलाई, प्रज्ञा दर्शन पुरस्कार २०७८ गोपीरमण उपाध्यायलाई, प्रज्ञा अनुवाद पुरस्कार २०७८ डा. बलराम अधिकारीलाई र प्रज्ञा अन्तर्देशीय पुरस्कार २०७८ भविलाल लामिछाने (भारत)लाई प्रदान गरिएको छ । प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारहरूको राशी एक लाख रुपियाँ रहेको छ ।