• ३० वैशाख २०८२, मङ्गलबार

'देशमा सुशासनको अभियान चलाउनुपर्छ'

blog

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, वैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासनको अभियान चलाउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलबार प्रेस सेन्टर नेपाल जिल्ला शाखा गुल्मीको आयोजनामा तम्घासमा भएको पत्रकार सम्मेलनमा उहाँले समृद्ध नेपाल निर्माणका लागि सुशान कायम गर्न जरुरी रहेको बताउनुभएको हो । 

देशमा भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गएको हुँदा भ्रष्टाचार नियन्त्रण गर्न भ्रष्टाचार विरुद्धको अभियान चलाउन जरुरी रहेको बताउनुभयो । भ्रष्टाचारकै कारण देशमा सुशासन कायम हुन नसकेको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने अभियान चलाउनुपर्ने बताउनुभयो । देशमा आर्थिक विकासले तिब्रता नपाएको भन्दै उहाँले सामाजिक र आर्थिक रूपान्तरणसँगै समृद्धिका लागि काम गर्नुपर्ने बताउनुभयो । 

देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउन र राष्ट्रिय पुँजीको विकासका लागि अभियान चलाउनुपर्ने उहाँको भनाइ छ । आफू गृहमन्त्री हुँदा जनताले बुझ्ने गरी गुणात्मक रूपमा काम गरेको बताउनुभयो । भ्रष्टाचारीहरूलाई जोगाउन वर्तमान सरकार लागेको हुँदा विधिको शासन उल्लङ्घन भइरहेको आरोप लगाउनुभयो । भ्रष्टाचारीलाई प्रोत्साहित गर्दै वर्तमान सरकार निरङ्कुश बनेको बताउनुभयो । 

देशमा पारदर्शीता नभएको भन्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको नेतृत्व गर्नेहरूमा इमान नभएको बताउनुभयो । त्यस्तै, उहाँले देशमा राष्ट्रिय एकता बलियो बनाउन सबै लाग्न जरुरी रहेको भन्दै जनताको बलिदानबाट प्राप्त भएको लोकतन्त्रको रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो । शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नसंगै सामाजिक र आर्थिक परिवर्तनको रूपान्तरणमा लागि जनताको जीवनमा परिवर्तन ल्याउनु राष्ट्रिय आवश्यकता रहेको बताउनुभयो ।