• ३० वैशाख २०८२, मङ्गलबार

भिसी शेरबहादुर मोटरमार्गको कालोपत्र भएपछि स्थानीय खुसी

blog

भिसी शेरबहादुर मोटरमार्ग अन्तर्गत भानु नगरपालिका–१२ मा गरिएको कालोपत्र । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ३० गते । तनहुँको भानु नगरपालिकामा पर्ने भिसी शेरबहादुर मोटरमार्ग कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषि उपज ढुवानी गर्न सहज भएपछि खुसी भएका हुन् ।

सडक डिभिजन कार्यालय दमौलीको ७१ लाख २४ हजारको ठेक्का सम्झौताबाट निर्माण व्यवसायी अर्घौ डेभलपर्स प्रालिले ५३० मिटर पक्की नाला ४६२ मिटर कालोपत्रेको काम निर्धारित समयमै सम्पन्न भएको निर्माण समितिको अध्यक्ष सुशीलचन्द्र भण्डारीले जानकारी दिनुभयो । निर्माण कम्पनीले भानु नगरपालिका–१२ मा कालोपत्र गरेको हो । 

चार सय ५० घरधुरीका बासिन्दा यो मार्गबाट आवतजावत गर्ने उहाँले बताउनुभयो । भण्डारीले भन्नुभयो, "कालपत्रले स्थानीयमा खुसी छाएको छ, आगामी वर्ष बजेटको माग गरेर बाँकी भागमा कालोपत्र गर्न लागि पर्छौं ।"

कृषि उत्पादनहरू बजारीकरण गर्न सडक कालोपत्र भएसँगै सहज भएको मिर्लुङ बहुउद्देश्य कृषि फार्मका सञ्चालक कुशलचन्द्र अधिकारीले बताउनुभयो । कालोपत्रेले यात्राको समय छोटिएको छ । यस मार्गले चन्द्रावतीदेखि घलेछाप हुँदै खत्रीठाँटी सम्म करिब १० किलोमिटर जोडेको छ ।