बोमलाल गिरी
नवलपुर, वैशाख ३० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका साना सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आउन थालेका छन् ।
सोमबार राति ८ः३० बजे पुल भाँचिएपछि नारायणघाट–बुटवल सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका साना सवारी साधन अहिले वैकल्पिक बाटो हुँदै पठाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वबाट पश्चिमतर्फ छुटेका सवारी साधन चोरमारा बजारबाट दक्षिणतर्फ तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्कने व्यवस्था मिलाइएको छ । खोलामा पानी नभएका कारण बाटो लामो र कच्ची भए पनि सवारी साधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको उहाँले बताउनुभयो ।
त्यस्तै, पश्चिमबाट पूर्वका लागि छुटेका साना सवारी साधन चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन सक्ने छन् ।
ठुला बस, ट्रक, लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको प्रहरी उपरीक्षक नेपालले बताउनुभयो ।
भाँचिएको पुल नजिकैबाट डाईभर्सन निर्माणको काम पनि जारी रहेको नेपालले बताउनुभयो । भाँचिएको पुलबाट भने पूर्णरूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ । उहाँका अनुसार पुल तत्काल सञ्चालनमा आउने सम्भावना भने छैन ।