कविराज घिमिरे
हिले, वैशाख ३० गते । धनकुटाको महालक्ष्मी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकासको काम ३० प्रतिशत सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले २०७८ चैतमा डिपिआर निर्माण गरी जितपुरमा काम सुरु गरेको थियो ।
सहरी पूर्वाधार अन्तर्गत महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा सङ्घीय सरकारको करिव ३० करोड ४७ लाखमा ठेक्का लागेको थियो । बजेटबाट मुख्यगरी सडक निर्माण तथा स्तरोन्नती, भवन निर्माण, हाटबजारको संरचना निर्माण जस्ता काम भइरहेको छ । पहिलो चरणमा नगरपालिका र स्थानीयवासीसँग योजनाका बारेमा छलफल गरेर त्यसको सर्भे गरि काम सुरु गरिएको हो । हालसम्म ३० प्रतिशत प्रगति भएको जनाइएको छ ।
जितपुर बजार विकासको कार्यले बजार विस्तार भई बाहिरबाट आएर पेसा व्यवसाय गर्न सकिने तथा स्थानीयलाई बजारको पहुँच बढाउने स्थानीय मिलन बरालको भनाइ छ ।
एकीकृत सहरी विकासको जम्मा लागतको ५० प्रतिशत सहरी पूर्वाधार योजनाहरू अन्तर्गत स्थानीय ६ वटा सडक तथा नाला व्यवस्थापन हुने छन् । यस्तै, ३० प्रतिशत लागतमा आयआर्जनसँग सम्बन्धि पूर्वाधार योजना अन्तर्गत मिनीमार्केट, बसपार्क र बजार निर्माण व्यवस्थापन हुनेछ भने १५ प्रतिशत लगानीमा सामुदायिक पूर्वाधार योजना अन्तर्गत हरियाली पार्क, पोखरी ताल संरक्षण तथा स्तरोन्नतीको काम हुने छ ।
बाँकी ५ प्रतिशत लगानीमा सहरी शासकिय पूर्वाधार अन्तर्गत सबै वडा कार्यालयको दोस्रो तलामा सभाहल निर्माण गर्ने डिपिआरमा उल्लेख छ । यो काम सम्पन्न भएपछि बजार व्यवस्थीत हुने, ११ सटरको सपिङ कम्पेक्स, फुटपात सहितको ७ किमी सडक कालोपत्रे हुने महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो ।
महालक्ष्मीमा सहरी पूर्वाधार विकासका लागि २०७८ सालमा काम सुरु भएको थियो । सहरी विकास मन्त्रालयबाट ५० करोड बजेट विनियोजन भएकोमा सारासृष्टि निर्माण सेवाले ३० करोड ४७ लाखमा ठेक्का पारेको हो । त्यस्तै पूर्वाधार निर्माण सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । काम समयमै सम्पन्न भए पालिकाको केन्द्र जितपुर बजारलाई फाइदा पुग्ने स्थानीय खगेन्द्र पौडेलले बताउनुभयो ।