• ३० वैशाख २०८२, मङ्गलबार

हावाहुरीले दमकमा २७ घरमा र तीन कृषि फर्ममा क्षति

blog

हावाहुरीले क्षति पुर्‍याएको घर । तस्बिर : बिष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख ३० गते ।
दमक नगरपालिकाले झापामा आइतबार साँझ आएको हावाहुरीका क्षति विवरण सार्वजनिक गरेको छ । वार्षासँगै आएको ठुलो हावाहुरीले दमक नगरपालिकाका विभिन्न वडाका २७ घरमा आंशिक क्षति पुगेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ । धेरैको टिनको छानो, टाटीबेरा भत्काएको छ । यसैगरी तीन वटा कृषि फर्ममा क्षति पुगेको पाइएकोे जानकारी उहाँले दिनुभयो ।

थापाका अनुसार नगरभित्र नौ वटा बिजुलीको पोल सडकमा ढलेका थिए । विद्युत अवरोध भएका ठाउँहरुमा तत्कालै विद्युत सुचारु गराउन पहल गरिएअनुसार अहिले विद्युत सुचारु भइसकेको थापाले बताउनुभएको छ । विद्युत प्राधिकरणसँग समन्वय गरेर ढलेका पोलहरुको व्यवस्थापन गरिएको थियो ।

केही सवारी साधनमा समेत क्षति भएको स्थलगत निरीक्षण देखिएको र कृषि क्षेत्रमा भएको क्षति विवरण सङ्कलन गर्ने कार्य पनि कृषि शाखा मार्फत भइरहेको नगर प्रमुख थापाले जानकारी दिनुभएको छ । हावाहुरीले कुनै प्रकारको मानवीय क्षति नभएको उहाँले उल्लेख गर्नुभयो ।