• ३० वैशाख २०८२, मङ्गलबार

झापाका रैथाने जङ्गली हात्तीको नामकरण

blog

झापा, वैशाख  ३० गते । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरूपका आधारमा नाम दिनुभएको हो । 

‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नाम सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्ती पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानवबस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामकरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । 

नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक वनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठुलो दाह्रे’ राखिएको छ । मझौला दाह्रा र चन्चले स्वभाव भएको १२ वर्ष उमेरको हात्तीको नाम ‘चुलबुल गज’ र दाह्राविपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ ।

अन्य हात्तीको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ । भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो । मुलादन्ते हात्तीको दाह्रा मुला जस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुई वटा दाह्रा तल र माथितिर फैलिएको छ । 

विगत आधा शताब्दीदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा संरक्षणकर्मीका रूपमा लुइँटेलले जङ्गली हात्तीको आनीबानी र शारीरिक बनावटको गहिरो अध्ययन गर्नुभएको कार्कीले बताउनुभयो । उहाँले कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यही अनुसार हात्तीमैत्री असल व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामकरण गरिएको बताउनुभयो । नेपालमा पाइने रैथाने हात्ती एसियाली हात्तीको भारतीय उपप्रजाति अन्तर्गत पर्छन् ।

“उहाँ यहाँ डुल्ने हरेक रैथाने हात्तीलाई टाढैबाट चिन्नुहुन्छ,” हात्तीको नामकरण गर्नुभएका संरक्षणकर्मी शङ्कर लुइँटेलका बारेमा वडाध्यक्ष कार्कीले भन्नुभयो, “उहाँ हात्तीको आनीबानी र रूपसँग परिचित हुनुहुन्छ । उहाँलाई पनि हात्तीले चिन्छन् ।”