सन्तोषी रावल
बाजुरा, वैशाख ३० गते । बाजुराको गौमूल गाउँपालिकामा ‘भाइरल पुल’ का रूपमा परिचित झोलुङ्गे पुल उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि निर्माणमा संलग्न मजदुर र निर्माण कम्पनीले हालसम्म पारिश्रमिक पाएका छैनन् । २०८१ को वैशाख २३ गते पूर्वसङ्घीय सांसद तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य लालबहादुर थापाले सो पुल उद्घाटन गर्नुभएको थियो । स्थानीय राजीव रोकायाका अनुसार पुल निर्माणमा खटिएका मजदुरले झन्डै २० लाख रुपियाँ पाउन बाँकी छ । उनीहरू लामो समयदेखि सम्बन्धित निकायमा तलबको माग गर्दै आएका छन् । “पुल बन्दै गर्दा काम गरेका मजदुर एक वर्षसम्म पनि पैसा नपाउँदा समस्यामा परेका छन्,” रोकायाले भन्नुभयो । निर्माण कम्पनी अंशमन चन्द्रोदय जेभी धनगढीका प्रतिनिधि तथा प्राविधिक चेतन दाहाल आफैँले पनि तलब नपाएको बताउनुभयो । “काम सम्पन्न भएर पुल सञ्चालनमा आए पनि कार्यालयबाट ५६ लाख ३० हजार रुपियाँ भुक्तानी पाउन बाँकी छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार कार्यालयले रकम नदिएपछि मजदुरलाई दिनुपर्ने तलब, साउत र ठेकेदारको खर्चसमेत अड्किएको हो । केही मजदुरलाई खाली चेक दिइएको भए पनि हालसम्म नगद भुक्तानी हुन सकेको छैन । दाहालले भन्नुभयो, “पैसा नपाउँदा मेरो नाममा प्रहरीमा उजुरीसमेत परेको छ ।”
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, धनगढी कैलालीका इन्जिनियर जगदीश विष्टले अघिल्लो वर्ष बजेट अभावका कारण भुक्तानी रोकिएको स्वीकार गर्नुभयो । चालु आवमा सबै बाँकी रकम छिट्टै भुक्तानी हुने उहाँले बताउनुभयो । पुल निर्माणपछि सामाजिक सञ्जालमा भाइरल बनेको उक्त झोलुङ्गे पुल पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । टिकटक, फेसबुक जस्ता माध्यममा दर्जनौँ भिडियो बनाइने यो पुल जिल्लाकै सबैभन्दा लामो र अग्लो मानिन्छ । गौमूल गाउँपालिका–३ को माझपालीबाट धल्काँडा, पाते र गर्जेसम्म जोडिएको पुलको लम्बाइ २६० मिटर र उचाइ करिब १७० मिटर छ ।