• २९ वैशाख २०८२, सोमबार

‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’ झालाई

blog

चाँदनी झा ।

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), वैशाख २९ गते । रामा यादव स्मृति प्रतिष्ठान रौतहटले  रामा यादव स्मृति  पत्रकारिता पुरस्कार २०८२  प्राइम टेलिभिजनका जनकपुर संवाददाता चाँदनी झालाई  प्रदान गर्ने घोषणा गरेको छ ।

स्वास्थ्य पत्रकारितामा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक पत्रकारलाई हरेक वर्ष रामा यादव स्मृति पत्रकारिता पुरस्कार दिइँदै आएको आयोजक रामा यादव स्मृति प्रतिष्ठान रौतहटले जनाएको छ । 

पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रूपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार झा २०७४ सालमा अप्पन टिभीबाट पत्रकारिता सुरुवात गर्नु भएको थियो ।

पुरस्कारको राशि नगद २६  हजार १ रुपियाँ र सम्मान पत्र रहेको छ । त्यसै गरी रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ बाराका पत्रकार शारदा पोखरेललाई प्रदान गर्ने निर्णय भएको रामा यादव स्मृति प्रतिष्ठान रौतहट जनाएको छ । २०७० सालदेखि पत्रकारिता गर्दै आउनु भएकी पत्रकार पोखरेल रातोपाटी अनलाइनमा बारा समाचारदाताको रूपमा काम गर्दै हुनुहुन्छ ।

आइतबार आयोजित घोषणा कार्यक्रममा दुवै वर्षको पुरस्कारबाट  पुरस्कृत हुने नाम घोषणा गरिएको हो । २०७८ वैशाख २८ मा कोरोनाका कारण  दिवङ्गत सञ्चार उद्यमी रामा यादवको स्मृतिमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक जना सञ्चारकर्मीलाई  हरेक वर्ष रामा यादव स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको रामा यादव स्मृति प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले जानकारी दिनुभयो ।