मुक्तिनाथ समाचारदाता
मुस्ताङ, वैशाख २९ गते । मुस्ताङका भूमिहीन सुकुम्वासीलाई दुई वर्षभित्र लालपुर्जा वितरण गर्ने गरी भूमि समस्या समाधान आयोग मुस्ताङले पालिकास्तरीय अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । जिल्लामा पालिकास्तरीय र वडास्तरबाट भूमिहीन सुकुम्वासीको अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन पठाएपछि भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासीको पहिचान गर्न तालिम सञ्चालन गरिएको हो । ल्होमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी आयोगका जिल्ला सदस्य सञ्जय थकाली, पामो गुरुङ, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रतिनिधिको उपस्थिति थियो ।
अभिमुखीकरण तालिममा विज्ञ सदस्य शर्मिला गुरुङले जिल्लाभित्र रहेका वास्तविक भूमिहीन नछुट्ने गरी वडा तहबाट तथ्याङ्क सङ्कलन गरिएको विवरणलाई पालिकाबाट रुजु तथा प्रमाणीकरण गरी जिल्ला समितिमा पेस गर्ने चरणबद्ध प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो । ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल विष्टले उपल्लो मुस्ताङमा भूमिहीन सुकुम्वासीको तुलनामा अव्यवस्थित बसोवास गर्नेको सङ्ख्या धेरै भएकाले आयोगबाट दु्रत गतिमा समस्या समाधान हुनपर्नेमा जोड दिनुभयो ।
उपल्लो मुस्ताङमा जलवायु परिवर्तन तथा प्राकृतिक विपत्तिका कारण बस्ती नै विस्थापित भएको अवस्थामा दिगो समस्या समाधानका लागि आयोगसँग निरन्तर समन्वय गरी समाधान गर्न तयार रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोग बनेर मात्रै हुँदैन, अब समस्या समाधान गरी लालपुर्जा दिनु पर्छ ।” आयोगका जिल्ला अध्यक्ष विधान पुर्जाले २०८३ साल मङ्सिरभित्र मुस्ताङका सबै भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीको समस्या समाधान हुने गरी काम गरिरहेको बताउनुभयो ।