• १३ साउन २०८१, आइतबार

बानेश्वरमा विष्फोट गराउने चार जना पुर्पक्षका लागि थुनामा

blog

काठमाडौं, जेठ २६ गते। काठमाडौं जिल्ला अदालतले सिलिण्डर ग्यास विष्फोट गराएको रोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

वैशाख ३० गते स्थानीय तह निर्वाचनको क्रममा काठमाडौंमा  सिलिण्डर विष्फोटको आरोपमा पक्राउ परेका चार जनालाई बिहीबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो। 

गोरखाको लखन गाउँपालिका-५ घर भएका काठमाडौंको कपन बस्ने २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेको तेमाल गाउँपालिका- ९ घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका- ५ टिकाथली बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ घर भएर भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोट बस्ने २८ वर्षीय युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका-८ का ३६ वर्षिय भरतकुमार राईलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो। 

महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ गरेपछि प्राप्त प्रमाणका आधारमा उनीहरुलाई अदालतमा उपस्थित गराइएको थियो। पक्राउ परेकामध्ये भरतकुमार राई विभिन्न हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्दामा यसअघिसमेत पक्राउ परेका थिए। 

स्थानीय तहको निर्वाचनका दिन काठमाडौं नयाँबानेश्वर-तीनकुने सडकखण्डमा ग्यास विष्फोट गराएको आरोप उनीहरुमाथि छ।  घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली ‘अपरेसन इको सेरा’ परिचालन गरेको थियो।