गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २९ गते । अर्थतन्त्रका समग्र परिसूचक सकारात्मक रहेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको नौ महिनाको तथ्याङ्क अनुसार अर्थतन्त्रका सबै परिसूचक सकारात्मक देखिएका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्म विष्रेषण आप्रवाह (रेमिट्यान्स) १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड बचतमा रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष सो अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा रहेको थियो ।
यस्तै २०८१ असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.९ प्रतिशतले वृद्धि भई २०८१ चैत मसान्तसम्मा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ चैत मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।
बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ५.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको छ ।
यस्तै चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्रास्फीति ४.६१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५.२२ र ४.२० प्रतिशत रहेको छ ।
यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ४९ हजार ६५२ रहेको तथ्याङ्कले देखाएको छ ।