• १९ असार २०८१, बुधबार

मुख्यमन्त्री पोखरेल-संयुक्त राष्ट्र संघ सहायक महासचिवबीच भेटवार्ता

blog

पोखरा, जेठ २६ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच औपचारिक भेटवार्ता भएको छ। 

नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधिसँग मुख्यमन्त्री पोखरेलले बिहीबार भेटवार्ता गर्नुभएको हो। 

गण्डकी प्रदेशका तर्फबाट पर्यटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, प्रमुख सचिव रविलाल पन्थ, सचिव ज्ञानेन्द्र पौडल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल सहभागी हुनुहुन्थ्यो। 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)को एसिया प्यासिफिक रिजनल ब्यूरो डाइरेक्टरसमेत रहनुभएकी कान्नीसँगको भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश देशको पर्यटकीय राजधानी भएकाले पर्यटन क्षेत्रको समग्र विकासमा सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो। 

गण्डकी प्रदेश सरकारले युएनडीपीसँगको सहकार्यमा ‘दिगो पर्यटन पुनरुत्थान परियोजना’ सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिएको जानकारी गराउनुभएको छ। 

सहायक महासचिव कान्नी विंगाराजाले दिगो पर्यटन विकासका लागि नेपालसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो। 

मुख्यमन्त्री पोखरेल, सहायक महासचिव कान्नीसहितको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेको छ। सहायक मन्त्रीसहितको टोलीले बिहीबार पोखराको सराङकोट, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयलगायत स्थानको अवलोकन गरेको छ।