• ४ जेठ २०८१, शुक्रबार

पत्रकार हकहितमा कन्जुस्याँई गर्दैनौं : मन्त्री साह

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, जेठ २६ गते । मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सरकार सञ्चार क्षेत्रलाई व्यवस्थि गर्नतर्फ ध्यान केन्द्रीत गरेकाले पत्रकार हकहितमा कुनै कन्जुस्याँई नगर्ने बताउनुभएको छ । 

मधेशको राजधानी जनकपुरधाममा बिहीबार आयोजित पत्रकार तथा सञ्चार माध्यम आचारसंहिता  मधेश प्रदेश २०७९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । प्रदेश सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्दैछ त्यसैले यसलाई निराशाको रुपमा नलिनुस् भन्नुहुँदै प्रदेश सरकारको सकारात्म काम बाहिर ल्याउन सञ्चारकर्मीसँग उहाँले आग्रह गर्नुभयो ।

आगामी दिनमा सञ्चार क्षेत्रसँग जोडिएका विषयलाई अगाडि बढाउने आधार तयार भएको बताउनुहुँदै सञ्चार माध्यम र सञ्चारकर्मीका लागि सहज वातावरण सिर्जना हुने उहाँले विश्वास दिलाउनुभयो ।  राजनीतिसँग मात्र जोडेर नभई, मधेश अन्नको भण्डार हो, कृषि क्षेत्रलाई समेत जोड दिन उहाँले आग्रह गर्नुभयो । मधेसको मुद्दालाई उठाउन उहाँले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । 

आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले सार्वजनिक गरिएको सो आचारसंहिता कार्यान्वयनमा ध्यान दिन सबैमा आग्रह गर्नुभयो । लोक कल्याणकारी विज्ञापनका लागि प्रयास जारी रहेकाले चाँडै वितरण गरिने उहाँले जानकारी दिनुभयो । प्रदेशबाटै प्रेस प्रतिनिधिपत्र वितरणको तयारी समेत भइरहेको बताउनुभयो ।  

सञ्चार सम्वद्ध निकायका प्रतिनिधिहरुले मिडिया काउन्सिलले सार्वजनिक गरेको आचारसंहिताका विषयमा आ–आफ्नो धारणा राख्दै पत्रकारलाई अंकुश लगाउने व्यवस्था राख्न नहुने सुझाव दिनुभयो । काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईले प्रदेशको आठवटै जिल्लाबाट राय सल्लाह तथा सुझाव संकलन गरेर आचारसंहिता तयार पारिएको बताउनुभयो ।