• ८ वैशाख २०८१, शनिबार

मगर समुदायमा धुले मेलाको रौनक

blog

तस्विर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

बेनी, जेठ २६ गते । जिल्लामा रहेकामध्ये पुरानो पर्व धुले मेलाको यस वर्षको अन्तिम दिन बिहीबार मङ्गला गाउँपालिका –३, बरङ्जामा शुरु भएको छ । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई बिहीबार सकिने धुलेका स्थानीयको भनाइ छ । ५४ घर कुरिया मगरहरुको मात्र यसमा सहभागिता रहन्छ । 

करिब तीनसय वर्ष पहिला ५४ घर मगरहरुले थालेको यो परम्परा अहिले पनि उहाँहरुको समुदायले मात्रै मनाउँदै आएका छन् । ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको सो पर्व प्रत्येक वर्ष जेठको तेस्रो वा चौथो मङ्गलबार सुरु भएर बिहीबार सकिन्छ । गएका दुई वर्ष सामान्य विधि मात्रै गरेर मनाइएको भए पनि यस वर्ष भने भव्य तबरले मनाइएको ५४ कुरिया मगर समुदायका बुद्धिबहादुर घर्तीले बताउनुभयो । 

यसवर्ष कोभिड–१९ को जोखिम कम हुँदैगएको कारणले सबैलाई आमन्त्रण गरी भव्य रुपले मनाइएको घर्तीको भनाइ छ । बरङ्जा क्षेत्रमा रहेका ९ थरका ५४ कुरिया मगरहरुको ७ देखि १३ पुस्तासम्म पुगेको पाइएकाले सरदरमा ७ पुस्ता ४५ वर्षका दरले बचेको भन्ने आधारमा पनि तीनसय १५ वर्ष पहिलादेखि यस क्षेत्रमा धुले मेला लगाउने गरिएको ५४ कुरिया मगर समुदायका घर्तीको भनाई छ ।


तीन सय वर्षभन्दा पहिलेदेखि निरन्तर यस क्षेत्रमा पूजा हुँदै आएकाले पुरानो संस्कार जोगाउँदै आधुनिकीकरण पनि गरिनुपर्ने घर्तीले बताउनुभयो । ५४ कुरियाबाट सुरु भएका मगरहरु दुई वर्ष अगाडिको तथ्याङ्क हेर्दा ३ सय ९४ घर पुगेका छन् । दुई वर्ष अगाडिसम्म ५४ कुरिया मगरको जनसङ्ख्या २ हजार २ सय ३९ थियो । ५४ कुरिया मगर समुदायले प्रत्येक वर्षको जेठमा धुले मेला र एकवर्ष बिराएर तिहारको समयमा आगादेव पूजा गर्ने गर्छन् । 

आगादेव पूजामा अन्य समुदायको प्रवेश निषेध हुन्छ । मेला तथा पूजा हुने कोतभन्दा केही टाढा अन्य समुदाय पनि जान पाइन्छ । तर कोतघर नजिक ५४ कुरिया बाहेकका कसैलाई पनि जान निषेध गरिन्छ । आगादेवमा कोही पनि अन्य समुदायको जान नपाउने हुँदा त्यसको आधिकारिक तस्विर तथा अन्य तथ्यहरु अरु समुदायसम्म पुग्न सकेको छैन । पछिल्लो समय आफ्नो समुदायको तथ्याङ्क सङ्कलनका लागि अमर रोका मगरले बरङ्जा र ५४ कुरियाको ऐतिहासिक चिनारी प्रकाशन गरेपछि केही तथ्यहरु बाहिर आएका छन् ।

मङ्गलबार पितृकार्य अर्थात् पितृ चढाउने गरिन्छ । त्यसपछि छेको हाल्ने काम हुन्छ । छेको हालेपछि गाउँभरमा कुनै पनि काम गर्न नहुने, खेतीपाती एवम् अन्यत्र जान नहुने प्रचलन रहेको स्थानीयको भनाइ छ । छ्याङ राखेपछिको मङ्गलबार पितृ चढाउने, त्यसपछि पराङ हाल्ने लगायतका आफ्नो समुदायभित्रका युवा युवतीहरुबीच रमाइलो गर्ने समेत चलन रहिआएको छ । 


अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्काहरुलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेकाहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझसम्म मगरहरुको धुले मेला सकिन्छ ।