चन्द्रपुर (रौतहट), वैशाख २६ गते । खुट्टामा गोली लागेर घाइते भएको ‘एमगज’ नामक जङ्गली हात्तीलाई यहाँको जुडिबेला र गैडाटारका किसानले औधी माया गर्थे । दया गरेर विभिन्न खानेकुरा दिन्थे, जसले हात्ती स्वस्थ हुँदै गयो । त्यही हात्ती अचेल यहाँका किसानका लागि समस्या भएको छ । गत कात्तिकदेखि चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा बस्दै आएको यस हात्तीले अचेल घर भत्काउन थालेको छ । कृषिबालीमा क्षति पुर्याइरहेको छ ।
जुडिबेलाका सुनिप पोखरेल पहिला मर्ला भन्ने डरले स्याहार गरिएको हात्तीले हाल कतिबेला पो मार्ने हो भन्ने उत्पन्न भएको बताउनुहुन्छ । “यो हात्ती बिरामी भएको बेला हामीले नै उपचारका लागि विभिन्न क्षेत्रमा पहल गर्यौँ, उपचार पनि भयो । खानेकुरा दियौँ, ज्यान तङ्ग्रियो । त्यो देखेर हामी निकै खुसी भएका थियौँ तर हाल त्यही हात्ती समस्या भयो । घर भत्काउने, खेतीमा नोक्सानी गर्ने गरिरहेको छ । अब त मान्छेलाई नै कतिबेला मार्ने हो भन्ने डर बढेको छ”, उहाँले भन्नुभयो ।
हात्तीले गत मङ्गलबार चन्द्रपुर–२ जोगिटोलका एकल महिला फूलमाया कुँवरको उठिबास लगाएको छ । हात्तीले पूरै घर ध्वस्त बनाएको, पकाउने ग्यासदेखि खाने चामलसमेत नष्ट गरेको उहाँले गुनासो गर्नुभयो । “बिरामी हुँदा हात्तीलाई खाना खुवाइयो, उपचारमा हाम्रो पनि चिन्ता थियो । हाल आफ्नै बास उजाडिदियो”, कुँवरले भन्नुभयो ।
नगर प्रमुख सञ्जयकुमार काफ्लेले कुँवरको घर बनाउन स्थानीय युवाहरूले सहयोग जुटाउने र त्यसमा आफ्नो पनि केही आर्थिक सहयोग र सहजीकरण रहने बताउनुभयो ।
यसैगरी सोही टोलकी मैया गिरी आलेले हात्तीले आफ्नो पनि घर भत्काएको र चामल, दाललगायत खाद्यान्न लगेको बताउनुभयो । सोही दिन स्थानीय मुक्तिनारायण चौधरीको घर पनि भत्काइदिएको थियो । हात्तीको आतङ्कले स्थानीय असुरक्षित भएको सोही वडाको पुलामीटोल निवासी उत्तम खड्काले गुनासो गर्नुभयो । पुलामीटोलकै नजिक हर्दिया खोलाको पोखरीमा दिउँसभरि बस्ने र रात परेपछि हात्ती गाउँ पस्ने गरेको उहाँले सुनाउनुभयो । हात्ती आतङ्का कारण केही समयदेखि स्थानीय जङ्गलमा घाँस दाउरा जानसमेत नसकिएको खड्काले बताउनुभयो ।
गत कात्तिकयता हात्तीले जुडिबेलामा मात्रै दुई दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्ज तथा वन मन्त्रालयका सचिवलाई समेत हात्ती व्यवस्थापनका लागि ध्यानाकर्षण गराइए पनि समस्या समाधान नभएको उहाँले गुनासो गर्नुभयो । “यहाँ हात्तीले विध्वंश मच्चाएको सरोकार भएकाहरू सबैलाई थाहा छ । पटकपटक ध्यानाकर्षण गराएका छौँ तर पनि कसैले वास्ता गरेका छैनन्”, वडाध्यक्ष थिङले भन्नुभयो ।
हात्तीले जुडिबेलाका खिकबहादुर पन्त, राजेन्द्र ठाकुर, तारजन मगर, रवीन्द्र लामा, प्रदीप बम्जन, शुक्र पुलामी, केशव पाठक, माइला कँडेल, रवि पुलामी, कमलबहादुर विक, बद्री कार्की, उमेश थापालगायतको घर भत्काइसकेको छ । यसैगरी, चन्द्रपुर–३ गैडाटारमा पनि एक दर्जनभन्दा बढी घर भत्काइएका छन् । वडाध्यक्ष बोधनाथ देवकोटाले हात्तीको आक्रमणबाट यहाँका सन्तबहादुर रुम्बा, मीना राई, छेनामसिंह लोप्चन, बलीमाया लोप्तन, बोम्जन साइँला, सुबास ठोकर, साइँला गोलेको घर भत्काएको बताउनुभएको छ ।
यही हात्तीको आक्रमणबाट गत कात्तिक १६ गते फतुवा विजयपुर–११ रागी बुटुवा बस्ने ७० वर्षीया पातलीमाया तामाङको ज्यान गएको थियो । रासस