• २४ वैशाख २०८२, बुधबार

प्रधानमन्त्रीको शुभकामना

मुलुकको रूपान्तरणमा गोरखापत्रको ठुलो योगदान

blog

प्रधानमन्त्री केपी शर्मा ओली गोरखापत्र दैनिक पढ्नु हुँदै । तस्बिर : प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पृष्ठ

काठमाडौँ, वैशाख २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखापत्र दैनिकको १२५ औँ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभएको छ । उहाँले विक्रम संवत् १९५८ वैशाख २४ गते देखि प्रकाशन सुरु भएको गोरखापत्रले शताब्दी लामो यात्रा पुरा गरेको भन्नुहुँदै थप सफलताको शुभकामना दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले शुभकामना दिनुहुँदै मुलुकको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा गोरखापत्रको ठुलो योगदान रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नेपाली पत्रकारिताको अग्रणी पत्रिका गोरखापत्रले समाज रूपान्तरणमा पुर्‍याएको योगदानको म प्रशंसा गर्न चाहन्छु ।’’

यो पनि पढ्नुहोस

प्रकाशकीय: शताब्दीपारिको यात्रा

गोरखापत्र १२५ औँ वर्षमा प्रवेश

गोरखापत्रले अब देश विकासका निम्ति नवीनतम र सिर्जनात्मक रूपमा आमनागरिकलाई गर्नुपर्ने बेला आएको बताउनुहुँदै उहाँले भन्नुभएको छ, “अब हाम्रा सूचना र विषयवस्तु उद्यमशीलताको विकाससँगै रोजगारीका अवसर सिर्जना गर्ने कुरामा केन्द्रित हुनुपर्छ । यसका लागि गोरखापत्रले पनि आफ्नातर्फबाट भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।” 

त्यसैगरी, उहाँले राष्ट्रका अभिभारा पूरा गर्न सरकारले अगाडि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन र पारदर्शिताको अभियानलाई जनसमक्ष विस्तार गर्न गोरखापत्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा समयानुकूल विषयवस्तु समेटेर देश विकासका निम्ति योगदान पुर्‍याउनु गोरखापत्र सम्बद्ध सबैमा आह्वानसमेत गर्नुभएको छ ।

यसैगरी, उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना दिनुभएको हो ।