काठमाडौँ, वैशाख २३ गते। गोरखापत्र संस्थानमा रचनात्मक पत्रकारिताको विषयमा छलफल भएको छ। प्रेस काउन्सिल नेपालको आयोजना र गोरखापत्र संस्थानको सहकार्यमा गोरखापत्र दैनिक १२५ औँ वर्ष प्रवेशको अवसरमा मङ्गलबार रचनात्मक पत्रकारिताको विषयमा छलफल भएको हो।
छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिताको सुरुवात गोरखापत्रले गर्नुपर्नेमा जोड दिनुभयो। ‘‘गोरखापत्रले पाठकलाई आकर्षित गर्न नयाँ स्वाद पस्कन सक्नुपर्छ। अब पत्रकारितालाई कसरी रचनात्मक बनाउने भन्ने कुरामा लाग्नुपर्छ। यो कुराको सुरुवात गोरखापत्रले गरेर अरूले यसबाट सिक्नुपर्छ’’, अध्यक्ष बस्नेतले भन्नुभयो, ‘‘गोरखापत्र र राइजिङ नेपाललले दैनिक एउटा, एउटा चर्चा गर्न योग्य रचनात्मक समाचार छाप्नुपर्छ।’’
अध्यक्ष बस्नेतले गोरखापत्रमा परिवर्तन कठिन भए पनि पछिल्लो समय परिवर्तन भएको कुरा पहिलो पृष्ठ हेर्दा थाहा हुने बताउनुभयो। काउन्सिलले गरेको अध्ययनले रचनात्मक समाचारमा गोरखापत्र अगाडि रहेको उहाँले उल्लेख गर्नुभयो। अध्यक्ष बस्नेतले नेपालको पत्रकारिताको इतिहासमा गोरखापत्र अनुकरणीय बन्नुपर्नेमा जोड दिनुभयो।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र १२५ औं वर्ष प्रवेशको अवसरमा संस्थानसँग सहकार्य गरेर गरेको छलफलका लागि काउन्सिल अध्यक्ष र परिवारलाई धन्यवाद दिनुभयो। उहाँले काउन्सिलसँगको रचनात्मक पत्रकारितासँग सम्बन्धित छलफल सकारात्मक रहेको विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष सुवेदीले काउन्सिलले रचनात्मक पत्रकारिताको नेतृत्व गर्नुपर्छ भनेर गोरखापत्रप्रति गरेको विश्वास संस्थानका लागि अवसर भएको बताउनुभयो। ‘‘अबको पत्रकारिता जानकारी भन्दा समाधानमुखी हुनुपर्छ भन्ने काउन्सिलको विश्वास हाम्रो लागि अवसर हो’’, अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘अभिभावकीय संस्थाको यो मूल्याङ्कन हाम्रो लागि प्रेरणादायी हुन्छ।’’ काउन्सिलसँग संस्थानले निरन्तर सहकार्य गरेर अगाडि बढ्ने विश्वास अध्यक्ष सुवेदीले व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले अबको पत्रकारिता नकारात्मक मात्र नभएर समाधानमुखी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गोरखापत्रले अहिलेको समाजले खोजेको पत्रकारिताको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो।
‘‘गोरखापत्र पहिलो अखबार मात्र होइन, यसले अहिलेको समाजले खोजेको पत्रकारिताको नेतृत्त्व गर्नुपर्छ’’, महाप्रबन्धक ऐरीले भन्नुभयो, ‘‘अहिलेको पत्रकारिता नकारात्मक मात्र होइन, समाधानमुखी हुुनुपर्छ।’’
पत्रकारिताको प्रभाव र गुणस्तर समाजमा रहिराखोस् भन्नका लागि यस्ता छलफल आवश्यक हुने महाप्रबन्धक ऐरीले बताउनुभयो।
‘‘अहिले विश्वव्यापी रूपमा रचनात्मक पत्रकारिताको अभ्यास भइराखेको छ। पत्रकारिता समाधानमुखी हुनुपर्छ। यसमा हामी लाग्नुपर्छ। पत्रकारिताको प्रभाव र गुणस्तर समाजमा रहिराखोस् भन्नका लागि यस्तो खालको कार्यक्रम आवश्यक हुन्छ। यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ’’, उहाँले भन्नुभयो। संस्थानसँगको सहकार्यका लागि उहाँले काउन्सिल नेतृत्व र परिवालाई धन्यवाद दिनुभयो।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईलले छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रेस काउन्सिलले रचनात्मक र समाधानमुखी पत्रकारिताको नेतृत्व गोरखापत्रले गर्नसक्ने बताउनुभयो।
‘‘चेतनामुलक पत्रकारिताको नेतृत्व गोरखापत्रले गर्न सक्छ भन्ने विश्वास ठुलो कुरा हो’’, उहाँले भन्नुभयो, ‘‘पत्रकारितालाई सकारात्मक दिशामा लानुपर्छ भन्ने कुरामा काउन्सिलसँग सहकार्य हुन सक्छ।’’
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले ‘रचनात्मक एवम् समाधानमुखी पत्रकारिताको बाटो’ शीर्षकमा प्रस्तुति राख्नुभयो। उहाँले समाचारमा अधिक नकारात्मकता र समस्याको चाङ थुप्रिँदा समाचार संस्थाले नयाँ सङ्कट झेल्दै गएको बताउनुभयो। नकारात्मक समाचारको प्रभाव बढ्दै जाँदा यसप्रतिको आकर्षण घटेको भन्दै रचनात्मक समाचारलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।
नकारात्मक समाचारकै कारण समाचारप्रति बेवास्ता गर्नेको सङ्ख्या बढेकोसमेत निष्कर्ष उहाँको थियो। उहाँको प्रस्तुतिमा के हो रचनात्मक पत्रकारिता ? रचनात्मक पत्रकारिता के होइन ? यसको अभ्यास समाचार संस्था र अन्य देशले कसरी गरेका छन् ? भन्ने विषयमा केन्द्रित थियो। रचनात्मक पत्रकारिताको डेनमार्क, हल्यान्ड, अस्ट्रेलिया, बेलायत, युक्रेन, जर्जिया र नेपालमा भइरहेको अभ्यासको विषयमा चर्चा गर्नुभयो। कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो। छलफलमा काउन्सिलका उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारी, शाखा अधिकृत सुवास राई, सन्तोष अधिकारी, अनुगमन अधिकृत सञ्चिता घिमिरेलगायतको उपस्थिति थियो।
छलफलमा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य एवम् गोरखपत्र अनलाइनका निमित्त सम्पादक लोकबहादुर चौधरी, गोरखापत्र दैनिक, राइजिङ नेपाल डेली, मधुपर्क, युवामञ्च र मुना मासिकसहितका सहप्रकाशनका सम्पादक, विभागीय प्रमुख, पत्रकार र कर्मचारीको उपस्थिति थियो।