गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते । नेपाल–चीन दौँत्य सम्बन्ध थप सुदृढ बनेको उच्च नेतृत्व तथा कूटनीतिज्ञले औँल्याउनुभएको छ । प्रजातन्त्र, शान्ति र विकासका लागि गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘मित्रताको एक विरासत : नेपाल चीन सम्बन्धको ७० औँ वर्षलाई क्यामराबाट हेर्दा’ शीर्षकमा आयोजना गरेको अन्तर्क्रिया तथा फोटो प्रदर्शनी कार्यक्रममा सहभागी उच्च नेतृत्वले नेपाल–चीन सम्बन्धको आयाम थप सुदृढ बनेको औँल्याउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७० वर्ष लामो दौँत्य सम्बन्ध अझ गहिरो बनेको प्रस्ट पार्नुभयो । करिब १६ सय वर्षअघि चीनबाट नेपाल आएका पदयात्री र त्यसपछि नेपालबाट चीन यात्रामा गएका कलाकार अरनिकोले नेपाली कला, संस्कृति, सभ्यता र जनजीवनलाई थप निकट बनाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “दुई मुलुकबिचको सम्बन्ध सामाजिक सद्भावयुक्त र अझ मजबुत बनेको छ, आपसी समानता, पारस्परिक हित तथा शान्तिपूर्ण सहअस्तित्वमा आधारित रहेको छ ।” चीनले नेपालको व्यापार, पूर्वाधार, विकास साझेदारीमा लामो समयदेखि सघाउँदै आएको उल्लेख गर्दै दुई देशका जनतामा आधारित सहकार्यका लागि थप वातावरण बनाउँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद् डा. शेखर कोइरालाले सन् १९५५ मा औपचारिक सम्बन्ध स्थापना भएयता नेपाल–चीन सम्बन्ध स्वस्थकर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्बन्ध दुईपक्षीय सन्धिमा मात्र आधारित छैन, पारस्परिक विकास र जनसम्बन्धमा बढी आधारित छ ।” नेपालको परराष्ट्र नीतिले छिमेकीलाई प्राथमिकता दिएको औँल्याउँदै उहाँले नेपालको व्यापार, पर्यटन, शिक्षा, सांस्कृतिक आदानप्रदानमा चीनको बलियो सहकार्य रहेको जिकिर गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत छन सोङले चीन र नेपाल उच्च हिमाल र नदीहरूले जोडिएको निकटतम छिमेकी मुलुक रहेको बताउनुभयो । दुई देशबिच शान्तिपूर्ण सहकार्यको नयाँ युग सुरु भएको उल्लेख गर्दै राजदूत सोङले सात दशकको सम्बन्ध पछिल्लो समय विकास, पूर्वाधार निर्माण, शिक्षा तथा आपसी साझेदारीतर्फ अग्रसर रहेको जानकारी दिनुभयो ।
उहाँले सन् १९६० मा तत्कालीन प्रधानमन्त्री तथा जननेता बिपी कोइरालाले गर्नुभएको चीन भ्रमण र त्यसपछि तत्कालीन चीनका प्रधानमन्त्री चाउएनलाईको नेपाल भ्रमणले दुई देशको ऐतिहासिकता झल्काउने स्मरण गर्नुभयो ।
सन् १९९२ मा त्यही बाटो थप फराकिलो पार्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउनुभयो । सन् २००५ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सन् २००९ मा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भ्रमण गर्नुभएको थियो ।