रामकृष्ण बोहरा
बागलुङ, वैशाख २२ गते । कुनै समय सामान्य बिरामी हुँदासमेत सदरमुकाम बागलुङ बजार, पोखरा र काठमाडौँका ठुला अस्पतालमा पुग्नुपर्ने गलकोटवासीको बाध्यता थियो । त्यहाँको हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा फाट्टफुट्ट बिरामी पुग्थे । तर अहिले समय बद्लिएको छ । गाउँ गाउँमा स्थानीय सरकार गठन भएपछि जनप्रतिनिधि नागरिकको स्वास्थ्यप्रति उत्तरदायी हुँदा गाउँघरमा सुविधासम्पन्न अस्पताल बन्न थालेका छन् ।
बिरामी हुँदा अन्यत्रै जानुपर्ने बाध्यता हट्दा अस्पतालप्रति जनविश्वास बढ्दै गएको छ । आधारभूत अस्पतालले विशेषज्ञ सेवा सुरु गरेपछि नागरिकले समयमै उपचार पाएका छन् भने यसअघि ठुला अस्पतालमा धाउँदा हुने आर्थिक क्षति कम भएको छ ।
विसं २०१६ सालमा स्थापना भएको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको नगर अस्पतालमा स्तरोन्नति गरिएको छ । दुई वर्षअघि अस्पतालले विशेषज्ञ सेवा सुरु गरेपछि दुर्गमका बिरामीले घरपायकमा उपचार पाउँदा राहतको महसुस गरेका छन् ।
अस्पताल प्रमुख डा. राजेश पौडेलले धेरै दीर्घ तथा अन्य रोगका बिरामीले अस्पतालबाट सहज सेवा लिएको बताउनुहुन्छ । सेवालाई प्रभावकारी बनाउन र घरआँगनकै अस्पतालबाट गुणस्तरीय सेवा दिन अस्पताल प्रशासन लागि परेको डा. केसीको भनाइ छ । अस्पतालको शुरुवाती चरणको पहिले महिना ३ सय ५० बिरामी आएको तथ्याङ्क छ, सेवा विस्तार हुँदै गएपछि अहिले एकैदिन १ सय ५० भन्दा बढी बिरामीले सेवा लिने गरेका छन् ।
अस्पतालबाट गलकोटबाहेक ताराखोला, बरेङ, बडिगाड गाउँपालिका र छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिकाका बिरामीले सेवा लिँदै आएका छन् । गलकोट नगर अस्पताल सञ्चालनमा आएपछि उपचारमा सहजको भएको हटिया बजारमा व्यवसाय गर्दै आउनुभएका सुरज बोहोरा बताउनुहुन्छ । ‘‘बिरामी हुँदा ऋणधन गरेर ठुला र महङ्गा अस्पतालमा धाउनुपर्ने बाध्यता केही हदसम्म टरेको छ’,’ बोहोराले सुनाउनुभयो ।
अस्पतालले एक वर्षमै ३० हजार बढी नागरिकलाई सेवा दिइरहेको छ । नगरपालिकाले दक्ष चिकित्सक सहितको उपकरण र पूर्वाधार व्यवस्थापन गरेपछि छोटो समयमा अस्पतालले जनताको मन जितेको नगर प्रमुख भरत शर्मा गैरे बताउनुहुन्छ । परिवार स्वास्थ्य महाशाखाबाट शुल्यक्रियाको अनुमति पाएपछि अस्पतालबाट १६ जना सुत्केरीको शल्यक्रिया गरिएको छ । नीति र कार्यक्रममै जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले लगानी समेत बढाइरहेको गैरेको भनाइ छ ।
भवन अलपत्र : कतै ठेकेदारको ढिलासुस्ती, कतै बजेट अभाव
बिरामीको भरोसा अस्पतालका भवन निर्माणकै चरणमा अलपत्र छन् । कतै जग्गा व्यवस्थापन गर्न कठिन हुँदा जग नै बसाल्न सकिएको छैन् । कतै जनतन जग राखेका भवन पनि बजेट र निर्माण व्यवसायीको सिकार बनेका छन् । नागरिकलाई स्थानीय तहमै स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित निर्माण थालिएका अस्पतालका भवन आफै बिरामी परेपछि नागरिक निराश छन् । निर्माण व्यवसायीको ढिलासुस्तीको चपेटामा परेका केही भवन आधाउधी बनेका छन् । कतै बजेट अभावले काम अघि बढ्न सकेका छैनन्।
गाउँघरमै सिंहदरबार आएपछि उत्साहित थिए सर्वसाधारण । तिनै सिंहदरबारको परिसर आसपासमै अस्पतालको सपनाले दङ्ग परेका नागरिक अहिले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा भइरहेको चरम बेवास्ताले निराश हुन थालेका छन् । लामो समयको प्रयास र पहलपछि घर पायकमा अस्पतालको भवन निर्माण हुन थालेपछि हौसिएकाहरू वर्षाैसम्म काम नसकिँदा उपचार गर्न ठुला सहरका महङ्गा अस्पतालमा धाउनु पर्ने बाध्यता छ ।
यस्तै, निर्माण सम्पन्न हुनुपर्ने बेला ठेकेदारको ढिलासुस्तीले बागलुङ नगरपालिका १३ पैंयुपाटामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अलपत्र छ । नगरपालिकाले पटक पटक ताकेता गर्दा समेत भवनको काम पहिलो तला ढलानमा सिमित छ ।
अस्पताल जस्तो महत्त्वपूर्ण काममा ढिलाई हुनु दुःखद भएको नगर उप–प्रमुख राजु खड्काले बताउनुहुन्छ । अस्पताल भवन निर्माण अघि बढेपनि निर्माण व्यवसायीले लापरवाही गर्दा काम सम्पन्न हुनेमा उपप्रमुख खड्काले आशंका व्यक्त गर्नुभयो ।
१५ शय्याको अस्पताल भवन निर्माण गर्न नगरपालिकाले श्री महालक्ष्मी जुगल जेभीसँग २०७८ असार २३ गते ठेक्का सम्झौता गरेको थियो । १२ करोड ८७ लाखमा सम्झौता भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । भवन २०८० साल असार २० गतेसम्म सक्नुपर्ने सम्झौता छ । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत साढे दुई तलाको लिफ्ट सहितको अस्पताल निर्माण गर्ने स्टमेट छ ।
स्थानीयको नौ रोपनी जग्गा नगर अस्पतालका नाममा पास भएपछि पैयुपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्नेगरी नगर अस्पतालको रूपमा नामाकरण गरिएको थियो । स्वास्थ्यको पहुँचबाट टाढा रहेका दक्षिण क्षेत्रलाई लक्षित गरी अस्पताल निर्माण थालिए पनि भवन निर्माणमा ढिलाई हुँदा अस्पतालको सेवा प्रभावकारी नहुँदा समस्या भएको वडा नं. ४ का वडा अध्यक्ष नारायण शर्मा पौडलले गुनासो पोख्नुभयो । रायडाँडा, पैयुपाटा, अमलाचौर र नारायणस्थानवासीलाई स्वास्थ्य सेवा लिन सहज हुने छ ।
बजेट अभाव हुँदा आफ्नै अस्पताल बनाउने निसीखोला गाउँपालिकाको सपनामा तुषारापात परेको छ । सरकारले बजेट विनियोजन नगर्दा निसीखोला ४ बोहरागाउँमा निर्माणाधिन अस्पतालको काम भइसकेको खण्डको पनि पालिकाले भुक्तानी दिन सकेको छैन ।
स्थानीयले जग्गा उपलब्ध गराएपछि पाँच वर्षअघि भवनका लागि ठेक्का लगाइएको थियो । १० करोड ९९ लाख रुपियाँको लागतमा निर्माणाधिन भवन गत वर्षको पौष मसान्तमा सकिनुपर्नेमा भुक्तानी नपाएपछि हिमदुङ एसी आइएस संयुक्त निर्माण कम्पनीले काम छाडेको हो । म्याद सकिएको डेढ वर्ष बितिसक्दा काम नसकिंदा अस्पतालमा सेवा संचालन हुन नसकेको वडा नं. ४ बोहरागाउँका वडा अध्यक्ष टिकानिधी पौडेलले बताउनुभयो ।
१० शैयाको अस्पताल निर्माण सम्पन्न भएमा निसीखोलाका झण्डै २५ हजार जनसंख्याले सेवा पाउने छन् । मध्यपहाडी लोकमार्गमा हुने अन्य दुर्घटनाका घाइतेको उपचारमा पनि यो अस्पताल उपयोगी हुने छ । गाउँपालिकाकै गौरवको आयोजना अलपत्र परेपछि आम नागरिकले स्वास्थ्य सेवाका लागि बुर्तिवाङ र पाल्पासम्म जानुपर्ने बाध्यता छ ।
पालिकाको मध्यभाग र मध्यपहाडी लोकमार्गबाट नजिक भएकोले यो अस्पताल सञ्चालन हुनासाथ धेरै नागरिकले सेवा पाउने छन् । गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघिय सरकारले अस्पतालको भवन निर्माणका लागि बजेट निकासा गरेको थियो । तर, ठेकेदारले अघिल्लो वर्षको कामको डेढ करोड बढी रकम भुक्तानी पाउन बाँकी छ ।
यसैगरी, कामको भुक्तानी सुनिश्चित भएपछि ढोरपाटन नगर अस्पतालको भवन निर्माण गरिरहेको एसी कन्स्ट्रक्सन कम्पनी डेढ वर्षपछि काममा फर्किएको छ । भुक्तानी रोकिएपछि ढोरपाटन नगरपालिका वडा नं. ९ पाखाथरमा २०७९ असार २३ गतेदेखि भवन बनाइरहेको कम्पनीले २०८० कात्तिक महिनादेखि काम रोकेको थियो ।
स्वास्थ्य मन्त्रालयले निर्माण कम्पनीलाई ८ करोड ७६ लाख रुपियाँ भुक्तानी गर्ने सुनिश्चित गरेपछि वैशाख १ गतेदेखि काममा फर्किएको नगर उप–प्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । २०८२ असार २३ गते सक्नुपर्ने काम बजेट अभावमा रोकिएको थियो । डेढ वर्ष काम रोकिँदा भवनको हालसम्म ५२ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
एसी कन्स्ट्रक्सनका प्रमुख दीपक अदैका अनुसार, काम सुरु गर्दा नगरपालिकाले पेश्की स्वरूप २ करोड ४६ लाख उपलब्ध गराए पनि त्यस यता कामको भुक्तानी नपाएपछि काम रोकिएको हो । २०८० कात्तिक महिनासम्म ८ करोड ७६ लाख रुपियाँको काम सम्पन्न गरि नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको अदैको गुनासो छ । १७ करोड ५० लाख रुपियाँमा सम्झौता गरी निर्माण कम्पनीले काम थालेको थियो ।
सञ्चालनको पर्खाइमा बडिगाड अस्पताल
यस्तै, बडिगाड गाउँपालिकाको ग्वालीचौरको पौँदीटारीमा १८ करोडको आधारभूत अस्पताल भवन निर्माण सकिए पनि दक्ष जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन । भवन अलपत्र पर्ने हो कि भनी स्थानीय निराश हुँदा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जनशक्ति र उपकरणका लागि पहल भइरहेको बताउनुभयो ।
पश्चिम क्षेत्रका मृगौला रोग पीडित नागरिकलाई अस्पतालबाट डायलासिस सेवा दिने गरी स्वास्थ्य मन्त्रालयमा पाँच वटा उपकरण माग गरिएको छ । गण्डकी प्रदेश सरकारले चिकित्सिक उपलब्ध गराए केही जनशक्ति गाउँपालिकाले व्यवस्थापन गरी अस्पताल चलाउन सकिने अध्यक्ष थापा बताउनुहुन्छ । अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागलाई पालिकाले मागपत्र समेत बुझाइसकेको छ ।